काठमाडौं–सुर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा कोरोना संक्रमण भएमा त्यस्ता व्यक्तिहरुमा जटिल समस्या निम्तिने सम्भावना बढी रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । नसर्ने रोगको प्रमुखमा कारकका रुपमा सूर्तिजन्य पदार्थ तथा धुम्रपानलाई लिइन्छ । सूर्तिजन्य पदार्थले नसर्ने रोग निम्त्याउने मात्र नभई कोभिड–१९ लगायतका संक्रामक रोगलाई पनि मलजल पु¥याउने चिकित्सकहरु बताउँछन् ।
हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका भनिएका अधिकांश व्यक्तिमा नसर्ने रोगको प्रकोप रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यस्तै, हेल्थ आवाजले कोरोना संक्रमणबाट मृत्यु भएका सुरुका १० व्यक्तिमा गरेको अनुसन्धानमा पनि ४ जना व्यक्ति सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको थियो ।
नेपालमा नसर्ने रोगहरूमा क्यान्सर, हृदयघात, मिर्गौला रोग, मधुमेह तथा उच्च रक्तचाप आदि हुन् । यी रोगको प्रमुख कारण कारण सुर्तिजन्य पदार्थको सेवन मुख्य कारक रहेको नेपालको स्टेप सर्वे—२०१९ ले पनि पुष्टि गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला चिकित्सा सम्बन्धि ‘न्यु इंग्ल्यान्ड जर्नल’मा प्रकाशित एक अध्ययनअनुसार कोभिड– १९ को गम्भीर लक्षणहरू धुम्रपान नगर्नेको तुलनामा २.४ गुणाले बढी हुने देखाएको छ । त्यसैले सुर्तिजन्य पदार्थले नसर्र्नेे रोग निम्त्याउनुका साथै नसर्र्नेे रोग लागेका मान्छेहरूमा कोभिड– १९ को संक्रमणको जोखिम उच्च रहने पाइएको हो । जसले गर्दा सुर्तिजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई कोभिड–१९ को संक्रमण भयो भने उसलाई सघन उपचार तथा भेन्टिलेटरको आवश्यकता पर्ने र त्यस्ता संक्रमित व्यक्तिमा मृत्युको जोखिम पनि उच्च रहने सो जर्नलमा उल्लेख छ ।
के साँच्चै सुर्तिजन्य पदार्थ सेवन गर्ने मानिसलाई कोभिड–१९ संक्रमण भयो भने गम्भीर बिरामी पार्छ त ? वीर अस्पतालका इमर्जेन्सी विभाग प्रमुख समेत रहेका जनरल फिजिसियन डा. सुरेश नेपाल सबै खालका भाइरल रोगहरुले सुर्तिजन्य पदार्थ सेवन गर्ने मानिसलाई छिटो आक्रमण गर्नुका साथै कोमामा पु¥याउन सक्ने बताउँछन् । ‘धुम्रपान अथवा सुर्तिजन्य पदार्थको सेवन गर्नेहरुको फोक्सोका सेलहरुलाई ड्यामेज गरेको हुन्छ, त्यसमा गएर भाइरस गएर बस्ने सम्भावना बढी हुन्छ,’ उनी भन्छन्, ‘सुर्तिजन्य पदार्थ सेवन गर्ने मानिसको रोग प्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउँछ, त्यसैले यस्ता मानिसलाई जुनसुकै भाइरसले आक्रमण ग¥यो भने छिट्टै कोमामा जाने सम्भावना हुन्छ ।’
सामान्य मान्छेलाई भन्दा पनि सुर्तिजन्य पदार्थ सेवन गर्ने मानिसलाई सबै खालका क्यान्सर लाग्ने सम्भावना ३० प्रतिशत बढी हुने क्यान्सर रोग विशेषज्ञ प्रा.डा. राजेन्द्र बराल बताउँछन् । ‘सुर्तिजन्य पदार्थ सेवन गर्नेलाई जुनसुकै प्रकारको क्यान्सरको जोखिम बढी हुन्छ,’ उनी भन्छन्, ‘नेपालमा फोक्सोको क्यान्सर एक नम्बरमा छ, त्यसको प्रमुख स्रोत नै सुर्तिजन्य पदार्थ हो ।’ कोरोनाले पनि सबैभन्दा बढी असर गर्ने भनेको फोक्सोलाई नै हो । त्यसो त नेपालमा कोरोनाबाट मृत्यु भएकामध्ये २ जना क्यान्सरसँग लडिरहेका थिए ।
क्यान्सर मात्र हैन सुर्तिजन्य पदार्थ सेवन गर्ने मानिसलाई मुटु, मस्तिष्क, पक्षघात, मिर्गौला रोगको सम्भावना पनि बढी हुन्छ । ‘सामान्य मानिसलाई भन्दा सुर्ति सेवन गर्ने मानिसलाई हृदयघातको सम्भावना बढी हुन्छ । हाल कोभिडको महामारीको बेलामा पनि सुर्तिजन्य पदार्थ सेवनले कोभिडको प्रकोप बढाउँछ, साथै मृत्यु हुने सम्भावना पनि बढी हुन्छ । त्यसैले यस्तो महामारीको बेलामा सुर्तिजन्य पदार्थ सेवन गर्न छाड्नुपर्छ,’ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला भन्छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नसर्ने रोग सम्बन्धि जोखिम तत्व सर्वेक्षणले नेपालमा २८.९ प्रतिशत नागरिकले चुरोट तथा सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको देखाइएको छ । यसमध्ये १७.१ प्रतिशतले चुरोट सेवन गर्छन् भने १८.३ प्रतिशतले धुवाँरहित सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ । साथै, नेपालमा हरेक वर्ष सुर्तिजन्य पदार्थ सेवनका कारण २७ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ ।
यस्तै, नेपालको जनगणना—२०६८ ले प्रत्येक वर्ष १ लाख ९६ हजार मानिसको मृत्यु हुने गरेको देखाएको छ । मृत्यु भएकामध्ये ६२ प्रतिशत नसर्ने रोगका कारण हुने विश्व स्वास्थ्य संगठनको २०१६ मा निकालेको तथ्यांकमा उल्लेख छ ।
१२ अर्ब रकम जम्मा हुनुपर्ने कर कोषमा १ अर्बमात्रै
सुर्तिजन्य पदार्थबाट हुने नोक्सानीलाई कम गर्न सरकारले सुर्तिजन्य पदार्थमा लगाएको कर बापत हरेक वर्ष स्वास्थ्य कर कोषमा कम्तिमा पनि १२ अर्ब रुपैयाँ रकम जम्मा हुनुपर्छ । तर, विगत केही वर्ष यता जम्मा हुने रकमको दायरा साघुरिँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने नियमावली, २०६८ मा सुर्तिजन्य पदार्थको अन्तःशुल्कबाट उठेको रकमको २५ प्रतिशत स्वास्थ्य कर कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।
सुर्तिजन्य पदार्थको अन्तःशुल्कबाट ४९ अर्ब रुपैयाँ रकम उठ्छ । त्यसको २५ प्रतिशतले स्वास्थ्य कर कोषमा जम्मा हुनुपर्छ । अहिले सो अनुपातमा रकम जम्मा नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । महालेखा परीक्षकको कार्यालयले पनि स्वास्थ्य कर कोषमा १२ अर्ब ३२ करोड रुपैयाँ रकम जम्मा हुनुपर्ने औल्याएको छ । १ अर्ब ८५ करोड रुपैयाँ मात्रै कर कोषमा जम्मा भएको स्पष्ट पारेको छ ।