२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल एयरलाइन्सका कोरोना संक्रमित पाइलटसहित कर्मचारीको खर्च सरकारले नव्यहोर्ने

नेपाल एयरलाइन्सका कोरोना संक्रमित पाइलटसहित कर्मचारीको खर्च सरकारले नव्यहोर्ने


काठमाडौं– कोभिड–१९ संक्रमितको उपचारका लागि सरकारले तोकेको अस्पतालको सेवा–सुविधा चित्त नबुझेको भन्दै ह्याम्स अस्पतालको आइसोलेसनमा गएका नेपाल एयरलाइन्सका पाइलटसहित कोरोना संक्रमित कर्मचारीको खर्च सरकारले नव्यहोर्ने भएको छ । नेपाल सरकारको मापदण्ड विपरित निजी अस्पतालमा बसेको भन्दै स्वास्थ्य मन्त्रालयले उनीहरुको खर्च नव्यहोर्ने भएको हो ।

यसरी सरकारको नियम विपरित आफू खुशी उपचार विधि अपनाउनेको खर्च सरकारले नव्यहोर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल बताउँछन् । ‘नेपाल सरकारको मापदण्डमा रहेर घरमै बस्ने हो भने नियमानुसारको स्वास्थ्यकर्मी खर्च उपलब्ध गराउँछौं,’ उनी भन्छन्, ‘तोकिएको अस्पतालमा बस्दा त्यहीँ बस्ने नियमअनुसार खर्च उपलब्ध गराउँछौं तर मनोमानी तरिकाले सम्झौता गरेर गरेको पैसा नेपाल सरकारले व्यहोर्दैन ।’

कोभिड–१९ उपचार निर्देशिकामा संक्रमितको उपचारमा सरकारले तोकेको ठाउँमा मात्र उपचार गर्न पाउने व्यवस्था छ । हालसम्म नेपाल सरकारले सरकारी अस्पताललाई मात्र कोभिड–१९ को उपचार गर्ने अनुमति दिएको छ ।

सोल्टी होटलको क्वारेन्टाइन बसेका पाइलटसहित चालक दलका १४ जनामा असार २२ गते कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो । कोभिड–१९ को संक्रमण पुष्टि भएसँगै उनीहरूलाई बलम्बुस्थित कोभिड–१९ युनिफाइड अस्पतालको आइसोलेसनमा उपचारका लागि लगिएको थियो । त्यहाँको सेवा–सुविधा चित्त नबुझेको भन्दै कोभिड–१९ संक्रमित निगमका कर्मचारीले गुनासो गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ह्याम्समा सर्नका लागि अनुमति दिएको थियो । निर्देशिका विपरित मन्त्रालयले किन अनुमति दियो ? मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, ‘नेपाल वायुसेवा निगमले आफ्ना कर्मचारीको उपचार खर्च आफैंले व्यहोर्ने भनेर अनुमति मागेपछि मन्त्रालयले ह्याम्समा सर्नका लागि अनुमति दिइएको हो ।’

ह्याम्समा बस्न महंगो भएको भन्दै फेरि पाइलटसहित निगमका कर्मचारीहरु सोल्टीमा सरेका थिए । ह्याम्स र सोल्टीमा लागेको खर्च पाइलट तथा कर्मचारीले व्यक्तिगत तिर्ने कि निगमले तिर्ने भन्ने विषयमा छलफल चलिरहेको नेपाल वायु सेवा निगमकी प्रवक्ता अर्चना खड्का बताउँछिन् । ‘ह्याम्स र सोल्टीमा हाम्रा कर्मचारीको उपचारमा लागेको खर्च कसले व्यहोर्ने भन्ने विषयमा अहिले ठ्याक्कै डिसिजन भैसकेको छैन,’ उनी भन्छिन्, ‘अब केही दिनमा छलफलबाट यसको टुंगो लाग्छ ।’ निगमका १४ जना कोरोना संक्रमित कर्मचारी उपचारपश्चात निको भएर बिहिबार बेलुका नै घर फर्किसकेको खड्काको दाबी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ