बुटवल– बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ सेवाहरू थप हुँदै गएका छन् । अस्पताल विकास समितिमा सूर्यबहादुर भट्टराई र मेडिकल सुपरिटेन्डेन्टमा डा. राजेन्द्र खनाल आएसँगै अस्पतालमा देखिने गरी सुधारको प्रयास भएको पाइएको हो ।
अस्पतालको आन्तरिक व्यवस्थापनमा समेत सुधार हुँदा सेवा प्रवाह प्रभावकारी बन्दै गएको छ । रेडियोलोजिष्ट डा.खनाल अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएसँगै आन्तरिक व्यवस्थापनमा लागेको बताउँछन् । ‘यस अघि के थियो अहिले के छ ? तपाईंहरू नै आँकलन गर्नुहोस् । भएका काम यिनै हुन्,’ अध्यक्ष भट्टराइले भने ।
देश बन्दाबन्दीको अवस्थामा रहँदासमेत अस्पतालभित्रको भौतिक पूर्वाधारको काम रोकिएन । पार्टेसन, मेसिन जडान, बेडहरुको निर्माण लगायतका कार्य भैरहे । अस्पतालमा अतिआवश्यकीय सेवाहरूका साथै दैनिक सेवाहरू पनि थप भएको छ । पुराना सञ्चालित सेवाहरूलाई पनि थप व्यवस्थापन गरी चुस्त बनाउने काम भएको मेडिकल सुपरिटेन्डेन्ट डा. खनाल बताउँछन् ।
पिसीआर सेवा र कोरोना अस्पताल
लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले पिसीआर सेवा सुचारू गरिएको छ । कोरोना संक्रमणको अवस्था पत्ता लगाउन भरपर्दो मानिएको पिसीआर सेवा सुरू भएसँगै परिक्षणको दायरा समेत बढेको छ ।
यस क्षेत्रमा देखापर्ने जोखिमको आँकलन र त्यसको न्यूनिकरणका लागि सावधानी अपनाउन पिसिआर परिक्षणलाई व्यापक बनाउनु पर्ने जनगुनासोलाई मध्यनगर गर्दै पिसिआर सेवा सुरु गरिएको मेसु डा. खनाल बताउँछन् ।
अस्पतालले एक करोड ३० लाख मूल्य बराबरको पिसिआर मेसिन खरिद गरेको छ । सो मेसिन खरिदका लागि प्रदेश ५ सरकारले ६० लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो भने बाँकी रकम अस्पताल विकास समितिले लगानी गरेको अस्पताल विकास समिति अध्यक्ष भट्टराईले बताए ।
त्यस्तै, कोरोना बिरामीको उपचारका लागि निर्माण भएको अस्थायी अस्पतालमा आईसियु सेवा जडान गरिएको छ ।
डाइलोसिस सेवा सुरू
मृगौला रोगीहरूको समस्यालाई मध्यनजर गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा डाइलोसिस सेवा सुरू भएको छ । यसअघि निजी अस्पतालमा डाइलोसिस सेवा भएपनि सरकारी अस्पतालमा डाइलोसिस सेवा थिएन ।
यस क्षेत्रमा रहेका सरकारी अस्पतालमध्ये लुम्बिनी अस्पताल नै डाइलोसिस सेवा सुरू गर्ने पहिलो अस्पताल बनेको छ । ‘निजी क्षेत्रका अस्पतालहरूमा डाइलोसिस सेवा थियो, तर सरकारी अस्पतालमा डाइलोसिस सेवा सुरू गर्ने हामी पहिलो भएका छौं,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट खनाल भन्छन्, ‘यसलाई थप व्यवस्थित बनाउँदै लैजाने योजनामा छौँ ।’

आकस्मिक सेवामा सुधार
यस अस्पतालको इर्मेजन्सी सेवामा सुधारको संकेत देखिएको छ । सेवा प्रभावकारी नहुँदा हैरानी खेपेका बिरामी र बिरामीका अफन्तहरूको गुनासोलाई मध्यनजर गरेर व्यवस्थापनको कार्यलाई प्राथमिकता दिएको अस्पतालले जनाएको छ ।
अस्पतालको आकस्मिक कक्षमा बेड अभावका कारण एउटै बेडमा ३ जनासमेत राखेर उपचार गर्नुपर्ने बाध्यता थियो । तर, अहिले बेडका साथै चिकित्सक कर्मचारीको ड्युटी व्यवस्थापनलाई जोड दिइएको छ ।
यतिमात्र होइन अस्पतालमा कार्यरत चिकित्सकहरुद्धारा निजी क्लिनिकमा बिरामी पठाउने अवैध कामलाई पनि रोकिएको मेसु खनालको दाबी छ ।
पोस्ट अपरेटिभ अब्जरभेसन वार्डको स्थापना
अपरेसन गरिएका बिरामीका लागि राख्ने स्थानको अभावले समस्या हुँदै आएकोमा अस्पतालले पोस्ट अपरेटिभ अब्जरभेसन वार्डको स्थापना गरेको छ । जसले गर्दा अपरेसन गरेका बिरामीहरुको उचित हेरचाह र मेडिकल केयर गर्न सजिलो भएको छ ।
प्रदेश ५ सरकारको लगानीमा निमार्ण भएको नयाँ भवनमा यो सेवा सुरु गरिएको डा. खनालले बताए । ‘केयर भएन भने अपरेसन गरेका बिरामीहरुमा थप संक्रमण हुने खतरा हुन्छ । त्यसको व्यवस्थापन अति जरुरी थियो । केही हदसम्म अब सहज हुन्छ,’ उनले भने ।