२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकेएमसी र स्टार अस्पताललाई शुल्क लिएर कोरोना परीक्षण गर्न दिने स्वास्थ्य मन्त्रालयको तयारी

केएमसी र स्टार अस्पताललाई शुल्क लिएर कोरोना परीक्षण गर्न दिने स्वास्थ्य मन्त्रालयको तयारी


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई निजी अस्पताललाई अस्पतालमा उपचारमा आएका बिरामी र कुटनीतिक नियोगका व्यक्तिहरुको कोरोना परीक्षण गर्न चाहेमा शुल्क लिएर परीक्षण गर्न पाउने अनुमति दिने तयारी गरेको छ । आइतबार स्वास्थ्य मन्त्रीसहित मन्त्रालय उच्च अधिकारी सम्मिलित बैठकमा काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगल र स्टार अस्पताल सानेपालाई शुल्क लिएर कोरोना परीक्षण गर्न अनुमति दिने विषयमा छलफल भएको थियो ।

‘आइतबारको बैठकमा दुई अस्पताललाई त्यहाँ उपचारमा रहेका बिरामी र कुटनीति नियोगका व्यक्तिहरुले कोरोना परीक्षण गर्न चाहेमा शुल्क लिएर परीक्षण गर्न दिने भन्ने विषयमा छलफल भएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘लिखित निर्णय आइसकेको छैन् तर लगभग अनुमति दिने सहमति भैसकेको छ ।’

यसअघि काठमाडौं उपत्यकाका तीन सरकारी अस्पताल र सात प्रदेशका सात वटा सरकारी अस्पतालमा मात्र शुल्क लिएर कोरोना परीक्षण गर्ने अनुमति मन्त्रालयले दिएको थियो । जसमा उपत्यकाका वीर अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पताल रहेका थिए भने उपत्यका बाहिरका प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ मा लुम्बिनी अस्पताल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढी रहेका थिए ।

सरकारले १५ असारदेखि दैनिक १० हजारको कोरोना पिसिआर जाँच गर्ने भनेतापनि झन घटाउँदैं गएको छ । यसअघि चार वटा निजी प्रयोगशालालाई परीक्षण गर्न दिने निर्णय गरेको थियो । तर, उनीहरुले आफैले स्वाब संकलन गर्न नपाउने र नेपाल सरकारले दिएका स्वाब परीक्षण गर्नुपर्ने निर्णय गरेको थियो ।

तथापि, अहिलेसम्म कुनै पनि निजी प्रयोगशालालाई सरकारले कोरोना परीक्षणका लागि स्वाब दिएको छैन । स्रोतकाअनुसार केही ल्याबले आफै स्वाब लिएर पैसा लिन थालेपछि मन्त्रालयले नियमनमा ल्याउने नाममा यस्तो निर्णय गरेको हो ।

स्टार अस्पतालमा निजी अस्पतालहरुमा सबैभन्दा पहिले कोरोना परीक्षण गर्न अनुमति पाएको अस्पताल हो । आफै स्वाब कलेक्सन गरेर सर्वसाधारणसँग शुल्क लिएर परीक्षण गर्न भने अनुमति दिइएको थिएन् । अस्पतालका सन्चालक समेत रहेका गोविन्द अखेला नेपाल सरकारका कोभिड—१९ ल्याब व्यवस्थापन समितिका सदस्य छन् । उनकै प्रभावमा स्वास्थ्य मन्त्रालयले स्टार अस्पताललाई कोभिड—१९ परीक्षण अनुमति दिएको स्रोतको दावी छ ।

स्टार अस्पताललाई मात्रै शुल्क लिएर कोरोना परीक्षण अनुमति दिदा विवाद हुने भएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पताललाई पनि अनुमति दिने तयारी मन्त्रालयले गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ