२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा २० वर्षमुनिका ४ हजार कोरोना संक्रमित, ४८ प्रतिशत संक्रमित निको भए

नेपालमा २० वर्षमुनिका ४ हजार कोरोना संक्रमित, ४८ प्रतिशत संक्रमित निको भए


काठमाडौं—नेपालमा २० वर्षमुनिका ४ हजार ५९ जनामा कोरोना संक्रमण देखिएको छ । मुलुकमा १६ हजार ६ सय ४९ जना संक्रमित पत्ता लाग्दा ४ हजार ५९ जना २० वर्षमुनिका संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ जारी गरेको तथ्यांकअनुसार जन्मेदेखि २० वर्ष उमेर समूहको संख्या ४ हजार ५९ रहेको छ । जसमा १८ वर्षसम्मका बालबालिका बढी संक्रमित देखिएका छन् । यद्यपि, मन्त्रालय निकाल्ने तथ्यांकमा १० वर्ष अन्तरको निकाल्ने हुँदा कति बालबालिका संक्रमित छन् भन्ने तथ्यांक ठ्याक्कै निकाल्न गाह्रो छ ।

मन्त्रालयले विदेशबाट अभिभावकसँगै फर्किएका बालबालिका संक्रमित भएको हुनसक्ने अनुमान लगाएपनि त्यसको आधिकारिकता पुष्टि गर्न सकेको छैन । ‘बालबालिकामा संक्रमण देखिनु भनेको समुदायमा रोग फैलिने जोखिम बढ्नु हो,’ टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला भन्छन्, ‘दैनिक तथ्यांक हेर्दैछौं । बालबालिका संक्रमित हुने दर बढ्दै गएको छ ।’ उनी अहिले विद्यालय सन्चालन नभएको र लकडाउनका कारण घरबाहिर हिड्न पनि नपाएको अवस्थामा संक्रमण हुनु भनेको अस्पताल वा परिवारबाटै सरेको हुन सक्ने बताउँछन् ।

कुन उमेरका कति संक्रमित ?

मन्त्रालयको तथ्यांकअनुसार १० वर्षमुनिका ६ सय २० बालबालिका संक्रमित छन् । त्यस्तै, ११ देखि २० वर्ष उमेर समूहका ३ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । तथ्यांकअनुसार सबैभन्दा धेरै संक्रमित २१ देखि ३० वर्षका छन् । काम गर्ने उमेर समूहका तिनीहरुमध्ये अधिकांश भारतबाट फर्किका हुन् । यो संख्या हालसम्मकै सर्वाधिक ६ हजार २ सय १५ रहेको छ । त्यसैगरी, ३१ देखि ४० वर्षका ३ हजार ८ सय २७ जना छन् ।

४१ देखि ५० वर्षका १ हजार ६ सय ७४ जना छन् भने ५१ देखि ६० वर्ष उमेरका ६ सय १४ संक्रमित हुन पुगेका छन् । ६० देखि ७० वर्ष उमेर समूहका १ सय ९८ जना रहेका छन् । ७१ देखि ८० वर्ष उमेरका ५० जना छन् भने ८० वर्षभन्दा माथिका १२ जना रहेका छन् ।
सबै भन्दा बढी प्रदेश २ र ५ मा संक्रमित

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुुुसार हालसम्म सबैभन्दा बढी संक्रमित प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ मा छन् । कम संक्रमित प्रदेश १ र बाग्मती प्रदेशमा छ । तर, पछिल्लो केही दिन यता बाग्मतीमा भने संक्रमण बढ्दो क्रममा छ ।

प्रदेश नम्बर २ मा जम्मा संक्रमितको संख्या ४ हजार २ सय ८२ छ भने डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ३४ रहेको छ । प्रदेश ५ मा ४ हजार ४५ जना संक्रमितमध्ये २ हजार ३ सय ६० जना डिस्चार्ज भएका छन् । त्यसैगरी, प्रदेश २ मा मृतकको संख्या ४ छ भने पाँचमा १० जनाको मृत्यु भएको छ । तेस्रोमा सुदूरपश्चिम प्रदेश रहेको छ । सो प्रदेशमा कुल संक्रमित संख्या ३ हजार ९ सय ९ रहेकोमा ९ सय ३९ संक्रमण जितेर डिस्चार्ज भएका छन । संक्रमित ६ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेशमा १ हजार ६ सय ६२ संक्रमितमध्ये १ हजार २ सय ५८ डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ३५ जना छन्, जसमध्ये ३ सय ५९ जना डिस्चार्ज भएका छन । कोरोना संक्रमित ५ जनाको मृत्यु भएको छ । प्रदेश नम्बर १ मा सबैभन्दा कम संक्रमण देखिएको छ । हालसम्म ७ सय ४३ संक्रमित भएकोमा ५ सय ५१ जना निको भएका छन भने मृत्युको संख्या शुन्य रहेको छ ।

४८.१ प्रतिशत संक्रमित निको भए

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये ४८.१ प्रतिशत निको भएका छन् । १६ हजार ६ सय ४९ जना संक्रमितमध्ये ८ हजार ११ जना निको भएर घर फर्किसकेको मन्त्रालयले जनाएको छ । ८ हजार ६ सय ३ जना संक्रमित विभिन्न आइसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि २३ हजारबाट तल झरेको छ । पछिल्ला केही दिन यता धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला जिल्ला कोरोना संक्रमणबाट मुक्त भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ