२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआयुर्वेद तालिम केन्द्र कीर्तिपुर र वीर अस्पतालले आईसीयु निर्माणका नाममा १२ करोड लगे, कामै गरेनन्

आयुर्वेद तालिम केन्द्र कीर्तिपुर र वीर अस्पतालले आईसीयु निर्माणका नाममा १२ करोड लगे, कामै गरेनन्


काठमाडौं-सरकारले तीन महिना अघि कोरोना भाइरस संक्रमितको अवस्था जटिल भए आईसीयु भर्ना गर्नुपर्ने भन्दै उपत्यकामा १ सय २० वेड आईसीयु १५ दिन भित्र सक्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको थियो । नियमित संचालनमा रहेका भन्दा छुट्टै २० वेड आईसीयुको नयाँ सेटअपका लागि प्रति अस्पताल १२ करोड ५० लाख रुपैयाँका दरले ६ वटा अस्पतालले पैसा लगेका थिए ।

तर, १५ दिनमा सक्नुपर्ने काम तीन महिना पूरा हुँदासम्म पनि १२० वेड नयाँ आईसीयु तयार भएका छैनन् । वीर अस्पताल, टेकु अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरीको अस्पताल वलम्बु, आयुर्वेद तालिम केन्द्र कीर्तिपुर र नेपाली सेनाको अस्पतालमा १५ दिन भित्र १ सय २० नयाँ आईसीयुको निर्माणका लागि प्रति अस्पताल १२ करोड ५० लाख रकम दिएको थियो । तर, टेकु अस्पतालमा बाहेक अन्यले नयाँ सेटअप गर्न सकेनन् । वीर अस्पताल र आयुर्वेद तालिम केन्द्र कीर्तिपुरले आईसीयुको निर्माण प्रक्रिया समेत अगाडि बढाउन सकेका छैनन् ।

सबैभन्दा पहिलो र सो रकमको नयाँ सेटअप टेकु अस्पतालले मात्रै गरेको छ । सेना, सशस्त्र र पाटनले पूरानै वेडलाई देखाएका छन् । पाटन अस्पतालले आफूसँग थन्किएर रहेको २१ वेडलाई व्यवस्थापन गरेर उक्त रकम खर्च गरेको छ । मोटो रकम लगेर आँखै अगाडि झुक्याउँदा समेत स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको छैन । पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले २१ वेड आईसीयु सरकारले भने अनुसार नै तयार भएको बताए ।

यता वीर अस्पतालले भने नयाँ आईसीयु थप गर्नका लागि पाएको १२ करोड ५० लाखमा एक रुपैयाँ पनि खर्च गर्न सकेको छैन । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीका अनुसार चाडै प्रक्रिया अघि बढाइने छ । तर, प्रक्रिया कहिले थाल्ने एकिन छैन । हरेक दिन आईसीयुको अपडेट गराउनुपर्नेमा कसैले पनि जानकारी नगराएको स्वास्थ्य मन्त्रालय स्रोत बताउँछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ