काठमाडौं—सरकारले १५ असारदेखि दैनिक पीसीआर परीक्षणको दायरा बढाएर १० हजार पु¥याउने घोषणा गरेको थियो । घोषणा गरेको दिन हालसम्मकै सर्वाधिक ७ हजार ७ सयको परीक्षण भएको थियो । तर, त्यसयता दैनिक परीक्षणको संख्या ४ हजार वरिपरी घुमिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम नमुना नभएका कारण परीक्षण संख्या कम भएको बताउँछन् । भारतबाट आएर क्वारेन्टाइनमा बसेको संख्या ठूलो भएकाले नमुना त्यही अनुपातमा संकलन भएको थियो । तर, अहिले सो संख्या घट्दै गएकाले नमुना कम हुँदा स्वतः परिक्षण घटेको उनको भनाइ छ । सुरुका दिनका क्वारेन्टाइनमा बस्नेहरुको संख्या २ लाखको हाराहारीमा थियो । त्यस बेला नेपालका प्रयोगशालाहरुमा २० हजारसम्म नमुना थुप्रिएका थिए । अहिले क्वारेन्टाइनमा बस्नेहरुको संख्या २५ हजार कम छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार मुलुकभरका २५ प्रयोगशालामा नमुना सकिएका छन् । सामान्य अवस्थामा पिसिआर परीक्षणको रिपोर्ट आउन २४ देखि २४ घण्टाको समय लाग्छ । हाल त्यही अनुसार नमुना खपत भइरहेको प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले बताए । प्रयोगशालाका अनुसार देशभरका प्रयोगशालामा क्षमताभन्दा बढी नमुना छैन । एकै दिनमा रिपोर्ट नआउने हुँदा प्रक्रियामा रहेका बाहेक नमुना प्रयोगशालामा छैन ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह ठूलो संख्यामा बिरामी भएका र क्वारेन्टाइनको संख्या पनि कम भएको अवस्थामा सुरुका दिनमा जस्तो अहिले व्यापक नमुना नहुने बताउँछन् । तर, सरकारले बिदेशबाट नागरिक ल्याउन थालेकाले जोखिम बढेसँगै अबका केही दिन पछि पुनः स्वाबको संख्या र परीक्षणको दायरा बढ्ने उनको तर्क छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अब कन्ट्याक्ट ट्रेसिङको मात्रै परीक्षण गर्नुपर्नेछ । यो पनि दैनिक देशभर ५ देखि ६ हजारको संख्यामा नमुना संकलन भएका छन् । हाल जति संकलन भएका छन् त्यति नै परीक्षण भएको छ । भएका प्रयोगशालाहरुले पनि काम पाएका छैनन् । दैनिक १५ सयको संख्यामा नमुना परीक्षण गर्दैै आएको केन्द्रीय प्रयोगशालाले नमुना नभएका कारण एक हप्तादेखि ६ देखि ८ सयको संख्यामा मात्रै नमुना परीक्षण गरेको छ ।
यही अवस्थामा एक महिनालाई पुग्ने किट मौज्दात
स्वास्थ्य सचिव लक्ष्मण अर्यालले चार महिनाका लागि पुग्ने परीक्षण किट भएको बताएका छन् । ‘मैले सबै निर्देशन दिइसकेको छु,’ उनले भने, ‘यदि टार्गेटअनुसार र समयमा काम भएन भने जिम्मेवार कर्मचारीलाई कारबाही गर्छु ।’ उनले उपत्यकाको अवस्था बुझ्न एक हप्ता भित्र कम्तिमा पनि ४५ हजार नमुना संकलन गर्न निर्देशन दिएको बताए ।
‘४५ हजारको परीक्षण गर्दा उपत्यकाको एउटा फिगर अनुमान गर्न सकिन्छ,’ उनले भने । हाल ९४ प्रतिशत संक्रमण बाहिरबाट आएकाहरु छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले उपत्यकामा धमाधम नमुना संकलनका कार्य भइरहेको बताए ।