काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) महाव्याधिका कारण नेपालमा फ्रन्टलाइनमा खटिने २९ प्रतिशत चिकित्सक, नर्स र ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीमा डिप्रेसनको लक्षण पाइएको छ । स्वास्थ्य अनुसन्धान परिषद् नेपालले कोभिड—१९ महामारीका बेला स्वास्थ्यकर्मीहरुमा डिप्रेसन, एन्जाइटी र तनावको कारणबारे गरेको अनुसन्धानले उक्त तथ्य बाहिर ल्याएको हो ।
अनलाइन सर्भेमा आधारित उक्त अनुसन्धानमा ४ सय ४ जना फ्रन्टलाइनर (डाक्टर, नर्स र ल्यावमा काम गर्ने)हरुलाई सहभागी गराइएको अनुसन्धानमा संलग्न नेपाल नर्सिङ एशोसिएसनकी पूर्व उपाध्यक्ष अप्सरा पाण्डे बताउँछिन् । अनुसन्धानले ३५.७ प्रतिशतमा एन्जाइटी र १७.१ प्रतिशतमा साइकोलोजिकल डिस्ट्रेस रहेको देखाएको छ ।
अनुसन्धानले २९ प्रतिशतमा डिप्रेसनका लक्षण देखिएकामा १३.१ प्रतिशतमा हल्का डिप्रेसन देखिएको थियो । यस्तै, १०.९ प्रतिशतमा मध्य खालको डिप्रेसन पाइएको थियो भने २.५ प्रतिशतमा कडा खालको डिप्रेसन देखिएको थियो । यस्तै, २.५ मा भने अति कडा डिप्रेसन पाइएको छ ।
३५.७ प्रतिशतमा नर्स, चिकित्सक तथा ल्याबमा कार्यरत स्वास्थ्यकर्मीमा एन्जाइटीको समस्या रहेको अध्ययनले देखाएको छ । जसमध्ये १७.६ प्रतिशतमा मध्यम खालको एन्जाइटी, ८.२ प्रतिशतमा हल्का एन्जाइटी, ४.७ प्रतिशतमा कडा खालको र ५.२ प्रतिशतमा अति कडा खालको एन्जाइटी पाइएको छ ।
यस्तै, १७.१ प्रतिशतमा सामान्यभन्दा बढी तनाव देखिएकामध्ये ८.४ प्रतिशतमा हल्का तनाव, ४.७ प्रतिशतमा मध्यम तनाव, २.५ प्रतिशतमा कडा तनाव र १.५ प्रतिशतमा अति कडा हुने गरेको देखिएको छ ।
उक्त अनुसन्धानमा ७ प्रदेशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक, नर्स र ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई सहभागी गराइएको थियो । सहभागीमध्ये ६३ दशमलव ६ प्रतिशत महिला र ३६ दशमलव ४ प्रतिशत पुरुष थिए ।
७० प्रतिशत तालिमबिहीन, ४४ प्रतिशतको निन्द्रामा समस्या
उच्च सावधानी अपनाउनुपर्ने चिकित्सक, नर्स र ल्याबका स्वास्थ्यकर्मीका लागि तालिम अत्यन्तै महत्वपूर्ण मानिन्छ । तर, अनुसन्धानमा सहभागी ७० प्रतिशत स्वास्थ्यकर्मीले कोभिड—१९ सम्बन्धी कुनै तालिम लिएका थिएनन् ।
अनुसन्धानमा सहभागीमध्ये ८१.५ प्रतिशत ६ देखि १० घण्टा ड्यिुटीमा खटिएका थिए । यस्तै, १७ प्रतिशत ११ देखि १५ घण्टा, १.५ प्रतिशत १५ घण्टा भन्दा बढी ड्युटीमा खटिएको पाइएको थियो ।
यस्तै, ७५.२ प्रतिशतलाई मात्रै अस्पतालले पीपीई सेट उपलब्ध गराएको अनुसन्धानले देखाएको छ । कर्मस्थलमा ५६.९ प्रतिशत नेपाल सरकारले बनाएका गाइडलाइनअनुसार काम गरिरहेको पाइएको छ भने २४.८ प्रतिशतले गाइडलाइनलाई नपच्छ्याएको, १८.३ प्रतिशतलाई गाइडलाइन नै थाहा नभएको देखिएको छ ।
क्वारेन्टाइनको सुविधान पनि सबैलाई उपलब्ध नभएको देखिएको छ । ५२ प्रतिशतलाई अस्पताल र काम गर्ने ठाउँमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ भने २९.५ प्रतिशतलाई उक्त सुविधा छैन । १८.६ प्रतिशतलाई क्वारेन्टाइनमा बस्नुपर्ने कुरा समेत थाहा नभएको देखिएको छ ।
अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरुको ठूलो हिस्सा परिवारसँगै बसिरहेको देखिएको छ । सर्वेक्षणमा सहभागी ५८.७ प्रतिशतले परिवारसँगै बसिरहेको उल्लेख गरेका छन् भने ४१.३ प्रतिशत परिवारभन्दा बाहिर बसेको पाइएको छ ।
५६.४ प्रतिशतलाई डाक्टर, नर्स र ल्याबमा काम गर्नेलाई समस्या नभएको पाइएको छ भने कामको बोझको कारण ४३.६ प्रतिशतमा निन्द्रामा समस्या देखिएको छ । समस्या भएकामध्ये ४७.७ प्रतिशतलाइ थकान र दिउँसो सुत्न समस्या भएको पाइएको छ । यो अध्ययनमा लक्षणहरू पता लगाउन DASS-21 भन्ने स्केल प्रयोग भएको अनुसन्धानमा संलग्न पाण्डेले बताइन् ।
स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सो अनुसन्धानमा अप्सरा पाण्डे, चन्द्रकला शर्मा, रामहरि चापागाईं, कृति अधिकारी, नर्मदा देवकोटा, सुमन पन्त, कमल रानाभाट संलग्न रहेका थिए ।