काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सिर्जना गरेको गीत चर्चित सर्जन डा. रमेश सिंह भण्डारी गाएका छन् । बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको प्रधानमन्त्रीले ओलीले रचना गरेको ‘बन्छ अब नमुना नेपाल’ बोलको गीतमा डा. भण्डारीको नै संगीत कम्पोजिसन रहेको छ ।
गत मंसिरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रियामा त्रिवि शिक्षणमा अस्पतालमा डा. भण्डारीले नै गरेका थिए । शल्यक्रियापछि अस्पतालमा रहँदा प्रधानमन्त्री गीत सुनिरहन्थे । त्यतिखेर डा. भण्डारीले आफूले गाएको गीत पनि प्रधानमन्त्रीलाई देखाएका थिए ।
‘त्यतिबेला उहाँले मैले गाएका गीतहरु रमाइलो मानेर हेर्नुभएको थियो,’ डा. भण्डारील भने, ‘त्यही बेला उहाँले गीत गाउन आग्रह गर्नुभएको थियो । मैले तपाईले लेखेपछि अवश्यक गाउँछु भनेको थिए । त्यो अहिले पूरा भएको छ ।’
प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री ओलीको कविता ‘बन्छ अब नमुना नेपाल’ सार्वजनिक भयो । त्यही कवितालाई डा. भण्डारीले र्याप प्याटर्नमा ढालेर गीत बनाए । त्यो प्रधानमन्त्रीलाई देखाए, प्रधानमन्त्रीलाई मन पर्यो ।
लगतै लकडाउन सुरु भयो । त्यसपछि गीतको संगीतलगायतका कामहरु गर्न एक महिना लागेको डा. भण्डारी बताउँछन् । ‘सबै कुराहरु म्यानेज गर्न लकडाउन भएकाले एक महिना लाग्यो ।’ गीत गाउन सौखिन भण्डारी कलेज जीवनमा पनि गीत गाउथे । उनको केही गीतहरु यसअघि पनि रेकर्ड भएका छन् । तर, डा. भण्डारीले प्रधानमन्त्रीको शब्दमा स्वर र संगीत भर्न पाउँदा आफूलाई गर्व लागेको प्रतिक्रिया दिए ।
उक्त गीतमा म्युजिक अरेन्जमेन्ट, मिक्स र माष्टरको काम भने निरन डंगोलले गरेका छन् । गीतको भिडियोमा क्रियटिभ टिममा पवित्र शाक्य, विपिन कपाली र सागरराज रहेका छन् । संगीतको निर्देशन तथा प्रोष्ट म्यानेज पनि सागरराजले नै गरेका हुन् ।
सुन्नुहोस गीत