२०८१ पुस २८, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार९ डाक्टर १६ नर्ससहित ७१ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, कहाँका कति ?

९ डाक्टर १६ नर्ससहित ७१ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, कहाँका कति ?


काठमाडौं—अहिलेसम्म फ्रन्टलाइनमा कोभिड—१९ संक्रमितको उपचारमा खटिरहेका ९ जना डाक्टर र १६ जना नर्ससहित ७१ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये ४६ जना एचए, अहेब, ल्याब असिस्टेन्ट, सीएम, अनमी, रेडियोलोजिष्ट र फर्मासिष्ट रहेका रहेका छन् ।

प्रदेश नंं. १ मा हालसम्म ५ जना स्वास्थ्यकर्मीमा कोभिड—१९ पुष्टि भएको छ । जसमा जिल्ला अस्पताल धनकुटामा कार्यरत २ नर्स, २ जना हेल्थ असिस्टेन्ट र झापाका १ जना फर्मासिष्ट रहेका छन् ।

प्रदेश नं. २ मा अहिलेसम्म ११ जना स्वास्थ्यकर्मीमा कोभिड—१९ पुष्टि भएको छ । पुष्टि हुनेहरुमा नारायणी अस्पतालमा काम गर्ने १ जना नर्स, विन्दवासिनी गाउँपालिकामा कार्यरत १ जना नर्स, वीरगन्जको गण्डकमा औषधी पसल सन्चालन गर्ने १ फर्मासिष्ट र सप्तरीको बोदेबसाईन नगरपालिकाका १ जना हेल्थ असिस्टेन्ट रहेका छन् । पर्सामै ७ जना जना अहेब पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बागमती प्रदेशमा १० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६ जना चिकित्सक र ४ जना नर्समा कोभिड—१९ पोजेटिभ देखिएको हो । पोजेटिभ देखिने चिकित्सकहरुमा स्वास्थ्य सेवा विभाग टेकुमा करारमा कार्यरत एक जना चिकित्सक, काठमाडौं मेडिकल कलेजमा कार्यरत २ चिकित्सक, चितवनस्थित नारायणी सामुदायिक अस्पतालमा काम गर्ने २ जना र काभ्रे घर भएका नेपाली सेनाका एक चिकित्सकमा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै, ४ जना नर्समा पनि कोभिड—१९ पुष्टि भएको छ । कोरोना संक्रमित हुनेहरुका सुनसरी घर भएर मनमोहन सामुदायिक अस्पतालमा कार्यरत १ जना नर्स, काठमाडौं मेडिकल कलेजमा कार्यरत १ जना नर्स र भक्तपुरको निजी अस्पतालका कार्यरत १ नर्स र चितवनमा कार्यरत नर्स १ जना रहेका छन् ।

गण्डकी प्रदेशमा २ चिकित्सक २ नर्स र १ स्वास्थ्यकर्मीसहित ६ जनामा कोभिड—१९ पुष्टि भएको छ । जसमा पर्वतको कोरोना अस्थायी अस्प्तालमा खटिएका पर्वत अस्पतालका १ जना चिकित्सक, २ जना नर्स र १ जना ल्याब असिस्टेन्ट कोभिड—१९ पुष्टि भएको हो । यस्तै, तनहुँको बन्दीपुर गाउँपालिकाका १ जना चिकित्सक र १ जना नाम पद नखुलेका स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ ।

सबैभन्दा बढी प्रदेश ५ मा स्वास्थ्यकर्मीहरु कोरोना संक्रमणबाट आक्रान्त भएका छन् । यो प्रदेशमा १७ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको हो । जसमा दाङमा १३ जना, कपिलवस्तुका १ जना, बाँके १ जना रुपन्देहीमा १ जना र अर्घाखाँचीका १ जना रहेका छन् ।

दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ चिकित्सक, २ नर्स र नाम पद नखुलेका स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्यसैगरी दाङका ३ जना अहेब, १ जना सि.अहेब, १ जना नर्स, २ जना हेल्थ असिस्टेन्ट र १ जना ल्याब असिस्टेन्ट रहेका छन् । यस्तै, कपिलवस्तु अस्पतालमा कार्यरत १ नर्स, बाँकेको खजुरा गाउँपालिकामा कार्यरत १ जना नर्स र रुपन्देहीको बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा कार्यरत १ जना हेल्थ असिस्टेन्ट रहेका छन् । अर्घाखाँची १ जना हेल्थ असिस्टेन्टमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा छ ।

कर्णाली प्रदेशमा ११ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित हुन पुगेका छन् । जसमा प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत ४ जना ल्याब असिस्टेन्ट, १ जना रेडियोग्राफर रहेका छन् । यस्तै, जुम्लाको चन्दननाथ नगरपालिकामा कार्यरत ३ जना सिएमए, दैलेखका २ जना स्वास्थ्यकर्मी र रुकुम पश्चिमका १ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा ११ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जसमा डडेल्धुरा १ जना स्टाफ नर्स, कन्चनपुरमा ३ जना ल्याब असिस्टेन्ट, कैलालीका १ जना अनमी, बाजुराका नाम पद नखुलेका ६ जना स्वास्थ्यकर्मी रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ