२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारल्याबले नमूना लिन नमानेपछि सिरहामा स्वाब संकलन रोकियो

ल्याबले नमूना लिन नमानेपछि सिरहामा स्वाब संकलन रोकियो


जनकपुर-विगत दुई सातादेखि सिरहामा कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन कार्य रोकिदा संक्रमण थप फैलिने जोखिम बढ्दै गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौंका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा गत जेठ १९ गतेदेखि स्वाब संकलन रोकिएको हो ।

‘धरान, विराटनगर, राजविराज, जनकपुर र टेकुले स्वाब लिन मानेका छैनन्,’ जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले भने, ‘हामीले स्वाब संकलन गरी परीक्षणका लागि खासमा जनकपुर र काठमाडौं पठाउने हो तर जनकपुरले ‘अहिले स्वाब नपठाउनू’ भनेर पत्र नै पठाएको छ, टेकुले पनि स्वाब नपठाउनू भनेकाले रोकेका हौं ।’

मुलुकको कुनै पनि प्रयोगशालाले परीक्षणका लागि स्वाबको नमूना लिन नमानेपछि जेठ १९ गतेयता जिल्लामा स्वाब संकलन रोकिएको प्रमुख यादवको भनाइ छ । कोरोना भाइरस तीव्र गतिमा फैलिएको छिमेकी मुलुक भारतबाट दैनिक घर फर्किनेको संख्या बढ्दै गएको बेला परीक्षणका लागि स्वाब संकलन नै रोकिएपछि कोरोना संक्रमण थप फैलिने जोखिम बढेको प्रमुख यादवले बताए ।

‘हामीसँग अझै स्वाब संकलन गर्ने किट छ तर न त प्रयोगशालाले स्वाबको नमूना लिन मानेका छन् न त माथिबाट संकलन गर्न निर्देशन नै आएको छ,’ प्रमुख यादवले भने, ‘त्यसैले स्वाब संकलन रोकेर आरडिटी मात्र जाँच गरेर घर पठाउनुपर्ने बाध्यतामा पुगेका छौं ।’

पछिल्लो पटक सिरहाबाट गत जेठ १७, १८ र १९ गते संकलन गरी पीसीआर परीक्षण गर्न ४ सय २० जनाको स्वाब पठाएकामा हालसम्म १५० जनाको मात्र रिपोर्ट आएको छ । बाँकीको रिपोर्ट अझै आउन सकेको छैन । सिरहाका विभिन्न स्थानको क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरी परीक्षण गर्न पठाइएकाहरुको दुई सातासम्म पनि रिपोर्ट नआउँदा व्यवस्थापनमा समस्या भइरहेको जनप्रतिनिधिले गुनासो गरेका छन् ।

गते जेठ १७ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न पठाएकामा हालसम परीक्षण रिपोर्ट नआउँदा क्वारेन्टाइमा बसेकालाई घर पठाउने वा क्वारेन्टिनमा नै राख्ने भन्ने अन्योल बढेको सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष मेहताले बताए । ‘दैनिक क्वारेन्टाइनमा आउनेको सङ्ख्या बढ्दैं गएको छ,’ गाउँपालिका अध्यक्ष मेहताले भने, ‘तर स्वाब लिएकाहरुको समयमा रिपोर्ट नआएपछि उहाँहरुलाई घर पठाउने कि क्वारेन्टिनमै राख्ने भन्नेमा हामी आफै अन्योलमा परेका छौं ।’

भारतबाट दैनिक घर फर्किनेको लर्काेले जिल्लाका लगभग सबै क्वारेन्टाइन भरिभराउ हुन लागेकाले अब आउनेलाई कहाँ व्यवस्थापन गर्ने भन्ने चुनौती बढेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईले बताए । ‘हामीसँग दुई हजार शैय्याको क्वारेन्टाइन छ तर अहिलेसम्म करिब एक हजार ५०० भन्दा बढी व्यक्ति क्वारेन्टाइनमा छन्,’ प्रजिअ गुरागाईले भने, ‘दैनिक आउने क्रम बढ्दै गएकाले अबको केही दिनभित्रै ती सबै क्वारेन्टाइन भरिन्छन् र त्यसपछि आउनेलाई कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने समस्या आउन सक्छ ।’ त्यसैले अब आरडीटी जाँच गरेरै घर पठाउने गरी तयारी गरिरहेको प्रजिअ गुरागाईले बताए ।

हालसम्म सिरहामा एक हजार ८४९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ६४ जनाको पोजेटिभ र एक हजार ४४३ जनाको निगेटिभ गरी कूल एक हजार ५०७ जनाको मात्र परीक्षण रिपोर्ट आएको छ भने ३४२ जनाको रिपोर्ट अझै आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

आरडीटी किटबाट कूल एक हजार ७७७ जनाको परीक्षण गरिएकामा ६७ जनाको पोजेटिभ र एक हजार ७१० जनाको रिपोर्ट निगेटिभ आएको जनाइएको छ । सिरहामा हालसम्म कोरोना भाइरस संक्रमित ६४ मध्ये २० जना उपचारपश्चात निको भएर घर फर्किसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ