२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रभावित भएको कलेजो र मिर्गौला प्रत्यारोपण सेवा क्रमसः सुरु हुने

प्रभावित भएको कलेजो र मिर्गौला प्रत्यारोपण सेवा क्रमसः सुरु हुने


काठमाडौं—विगत चार महिनादेखि देशमा प्रत्यारोपण सेवा ठप्प छ । मुलुकमा कलेजो र मिर्गौला प्रत्यारोपणको सुविधा छ । तर, कोरोना भाइरसका कारण लकडाउन बढ्दै जाँदा मिर्गौला र कलेजो प्रत्यारोप दुवै सेवा ठप्प भएका हुन् ।

शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण विशेषज्ञ प्राध्यापक डा. रमेशसिंह भण्डारी केही बिरामीहरु सेवाको पर्खाइमा रहेको बताउँछन् । तर, कलेजो प्रत्यारोपणका लागि नेपाली चिकित्सकहरुले मात्रै सम्भव नहुने भएकाले सेवा सुचारु हुन अझै कम्तिमा दुई महिना लाग्नेछ । उनले आगामी हप्तादेखि शल्यक्रिया सेवा सहज बनाउँदै लैजाने स्पष्ट पारे ।

शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण सेवा छ । त्यस्तै शिक्षण अस्पतालसँगै शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र, वीर अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र सुमेरु सिटी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा छ । सबै अस्पतालको सेवा लकडाउनसँगै ठप्प छ । डा. भण्डारी हप्तामा ५ जना नयाँ बिरामीले कलेजो प्रत्यारोपण सेवा सुचारु हुने नहुनेबारे जानकारी लिइरहेको बताउँछन् । जटिल प्रत्यारोपण भएकाले ठूलो टिम, स्रोत साधन पनि त्यही अनुसारको चाहिने भएकाले कोभिड—१९ ले केही समय पर धकेल्ने उनको बुझाइ छ ।

चिकित्सकहरुका अनुसार मुलुकमा प्रत्येक महिना कम्तिमा २५ जनाको मिर्गौला प्रत्यारोपण हुँदै आएको थियो । सेवा ठप्प हुँदा कयौ बिरामीहरु समस्यामा परेको मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले बताउँछन् । ठूलो संख्यामा बिरामीहरु प्रत्यारोपणको पर्खाइमा छन तर, कोभिडका कारण देश लकडाउनमा छ । यातायात संचालन नहुँदा बिरामी सेवाका लागि आउन सकेका छैनन् । कतिपय बिरामी सेवा नपाएर मृत्युवरण समेत गर्नुपरेको अवस्था छ । तत्काल लकडाउनलाई सहज नबनाए सेवा मात्रै होइन्, स्रोत साधनको समेत अभाव हुने देखिएको छ । चिकित्सकहरुका अनुसार कतिपय नयाँ मिर्गौलाका बिरामीले डायलाइसिस सेवा समेत पाएका छैनन् ।

शहीद धर्मभक्त राष्ट्रि अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा. प्रेमराज ज्ञवालीले लामो समयसम्म मिर्गौला प्रत्यारोपण रोक्न नहुने बताए । ‘मिर्गौला प्रत्यारोपण नगरेको व्यक्तिभन्दा गरेको व्यक्ति कोभिडको उच्च जोखिममा पर्ने भएकाले केही समय प्रत्यारोपण रोकिएको हो,’ उनले भने, ‘तर, यसरी सधैं सम्भव हुँदैन । सधै यसरी सेवा ठप्प बनाएर बस्दा बिरामीको मृत्यु हुन पनि सक्छ । त्यसैले उनीहरुको मन्जुरीनामा लिएर केही समयपछि सेवा सुचारु हुनेछ ।’

निर्देशक ज्ञवालीका अनुसार अहिले लकडाउनका कारण बिरामी पनि अस्पताल पुग्न सकेका छैनन् । केन्द्रमा लामो समयदेखि बन्द भएको क्याथ ल्याव सेवा पनि संचालनको तयारी भइरहेको छ ।

डिस्पोजेवल ‘गाउन’ अभावले शल्यक्रियामा समस्या

कोभिड—१९ अस्पतालबाहेकका अन्य अस्पतालमा आवश्यकता हेरेर शल्यक्रिया सेवा पनि संचालन छ । तर, लकडाउनका कारण पसलहरु बन्द हुँदा शल्यक्रिया गर्दा लगाइने डिस्पोजेवल गाउन अभाव हुन थालेको चिकित्सकहरुले बताएका छन् । राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलका अनुसार लकडाउनले गाउन अभाव भएको छ । उच्च गुणस्तरको गाउन पाउन चिकित्सकहरुलाई निकै कठिन छ । सेन्टरमा दैनिक ८ देखि १० वटा सम्म शल्यक्रिया हुँदै आएको छ ।

शल्यक्रियाका लागि कम्तिमा पनि ५ जनाको एक टिम हुन्छ । शल्यक्रियाका समयमा बिरामीलाई संक्रमण नहोस भनेर प्रयोग गरेपछि फाल्ने सुरक्षित कपडा (गाउन) प्रयोग गरिन्छ । बजारमा अहिले गाउन पाउन छाडेको निर्देशक डा. पौडेलले बताए । विगतमा ५ देखि ८ हजारमा एक सेट आउँथ्यो त्यसमा ५ वटा गाउन हुथ्यो, अहिले कोरोनाका लागि भनेर छुट्टाछुटै गाउन आउन थालेको छ । तर, एउटाको मुल्य नै २५ सय राखिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ