२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २आइसोलेसनकी टिम लिडर नर्सको अनुभव : डरलाई कर्तव्यबोधको भावनाले जित्यो

आइसोलेसनकी टिम लिडर नर्सको अनुभव : डरलाई कर्तव्यबोधको भावनाले जित्यो


विश्व अहिले कोरोना भाइरस (कोभिड—१९) को महामारीसँग जुधिरहेको छ । नेपालमा पनि कोभिड—१९ का केसहरु दिनप्रतिदिन बढिरहेका छन् । कोरोना संक्रमणको दर नेपालमा वृद्धि भएसँगै आम नागरिकमा डरत्रास उत्पन्न हुनु स्वभाविक हो । तर, कोरोना संक्रमितलाई राख्न बनाइएका आइसोलेसन वार्डमा खटिरहेका स्वास्थ्यकर्मी र नर्सहरुलाई कस्तो अनुभूति भइरहेको होला ?

प्रदेश २ को धनुषास्थित जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा कार्यरत टिम लिडर नर्स अञ्जला बराल भन्छिन्, ‘मेलै यो पेशा अंगालेको १७ वर्ष भयो । तर, यस्तो खालका बिरामी अहिलेसम्म देखेको थिइन । यो मेरो लागि नौलो छ ।’

उनले यो भाइरसबाट संक्रमित बिरामीलाई राख्ने वार्ड छुट्टै हुने, यसअघि नदेखिएको नयाँ भाइरसजस्ता कारण अनुभव र ज्ञानको कमी रहेको पनि बताइन् । ‘यसबारे न हामीसँग किताबी ज्ञान नै छ न त प्राविधिक ज्ञान नै । त्यसैले चुनौती थपिएको छ,’ उनी सुनाउँछिन् । आइसोलेसन वार्डमा काम गर्न थालेदेखि परिवारका सदस्यहरुलाई भेट्न पाएकी छैनन्, कोही भेट्नका लागि आएपनि गेटभन्दा बाहिरबाटै फर्किन्छन् । कोभिड—१९ को उपचारमा खटिदा साना—साना कुराको पनि समस्या हुने गरेको उनले सुनाइन् । ‘त्यसैले जनरल बिरामी र कोरोना बिरामीमा फरक छ,’ उनले भनिन् ।

अन्य बिरामीको काम कुरुवा वा आफन्तले गर्छन् भने यसमा त्यो गर्न पाउँदैनन् । कोभिड—१९ संक्रमित बिरामीको नजिक परिवारका सदस्य पनि आउन मान्दैनन् । कोभिड—१९ संक्रमित व्यक्तिहरु अनुकुलता नहुँदा बेला—बेलामा झर्किने रिसाउने गर्छन् । ‘तर, हामी कोरोना संक्रमितको उपचारमा खटिएका नर्सहरु त्यसलाई सामान्य रुपमा हाँसेर पचाइरहेका छौं,’ आइसोलेसनमा बिरामीका क्रियाकलापबारेका उनले सुनाइन्, ‘आइसोलेसन वार्डमा अत्यावश्यक वस्तु नहुँदा पनि बेला—बेलामा समस्याहरु उत्पन्न हुने गरेका छन् ।’ उनको अनुभवमा आइसोलेसनमा बस्ने संक्रमितहरु दिनभरी थुनेर बस्दा मानसिक तनाव त हुने नै भयो । त्यसका लागि मनोपरामर्शको आवश्यकता रहेको उनी बताउँछिन् । तर, अहिले नेपालमा त्यस्तो परामर्श दिने कुनै व्यवस्था छैन ।

उनी स्वयंमका लागि पनि सुरुमा कोभिड—१९ को उपचारमा खटिनु डरको विषय थियो । ‘नर्स पेशा नै जोखिम पेशा हो । त्यो हामीलाई थाहा हुँदाहुँदै पनि यो पेशा अंगालिसकेपछि डराउने कुरै भएन्,’ उनी निडरतापूर्वक भन्छिन्, ‘तर, यो कोरोना महामारीमा आफूलाई खटाउँदा सुरुमा एकदमै डर लाग्यो । मैले सोचे अब आफनो बच्चालाई फेरि भेट्न सक्छु कि सक्दिँन । चिन्ता पनि लागेर आयो । तर, व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) लगाएर १२ जना नर्सको टिमको नेतृत्व पाएर आइसोलेसन वार्डमा गए । त्यसपछि विस्तारै डरत्रास हटेर गयो । अहिले बिना संकोच, बिना हिचकिचावट सेवामा खटिरहेका छौं ।’

बरालका श्रीमान चिकित्सक हुन् । त्यसैले परिवारबाट उनलाई समस्या आउने कुरै भएन् । तर, आमाबुवाको मन न हो, जति सम्झाएपनि अहिले पनि चिन्ता गरिरहन्छन् । बराललाई यो महामारी नर्सका लागि चुनौतीसँगसँगै एक अवसर पनि लाग्छ । ‘त्यसैले सबै नर्सलाई भन्छु यो पेशानै चुनौतीपूर्ण छ । हाम्रो पेशा र कर्तव्यप्रति बफादार भएर सेवामा लाग्ननुपर्छ,’ उनी अन्य नर्सलाई सुझाउँछिन् ।

महामारीका कारण आम मानिसमा त्रासको वातावरण भएपनि यो ज्यानमारा भाइरस नभएकाले नआत्तिन पनि उनले सुझाव दिइन् । ‘आत्मबल र स्वास्थ्यकर्मीको निर्देशन पालना गर्ने हो भने यसलाई सहजै पराजित गर्न सक्छौ,’ उनी भन्छिन्, ‘त्यसैले यसबाट डराउनुपर्ने देख्दिन ।’


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ