२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकमाथि हातपातको घटनामा अनुसन्धान सुरु, २ जनालाई नियन्त्रणमा लिएर बयान लिदैं प्रहरी

चिकित्सकमाथि हातपातको घटनामा अनुसन्धान सुरु, २ जनालाई नियन्त्रणमा लिएर बयान लिदैं प्रहरी


काठमाडौं—जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा चिकित्सकमाथि हातपात र सिसिटीभी फुटेज गायब प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । शुक्रबार नेपाल प्रहरीको वौद्ध बृतले सिसिटीभी फुटेजसँग सम्बन्धित २ जना कर्मचारीलाई अस्पतालबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

वौद्ध प्रहरी वृत्तका प्रमुख नवीन कार्कीले अस्पतालबाट सिसिटीभी फुटेजसँग सम्बन्धी दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पुष्टि गरे । ‘हामीले आइटीसँग सम्बन्धित दुई जनालाई सिसिटीभी फुटेजबारे अनुसन्धानका लागि ल्याएका छौं,’ उनले भने, ‘हामी यसबारेमा अनुसन्धान गरिरहेका छौं ।’

१४ जेठमा नेपाल मेडिकल कलेजमा उपचारका क्रममा एक जना बिरामीको मृत्यु भएको थियो । बिरामीको मृत्युपछि आक्रोशित आफन्तले डाक्टरले उपचारमा नेग्लीजेन्स गरेको भन्दैं ड्युटीमा रहेका दुई जना चिकित्सकमाथि हातपात गरेका थिए । हातपातपछि पीडित चिकित्सकहरु उक्त घटनाको छानविनको माग गर्दै आन्दोलन गरेका थिए ।

त्यहीबीचमा अनुसन्धानका लागि उपयोगी हुने ठानिएको अस्पतालको सिसिटीभी फुटेज गायब पारिएको थियो । अरुबेलाको सबै रेकर्ड सिसिटीभीमा रहेपनि चिकित्सकमाथि हातपात हुने बेलाको सिसिटीभी फुटेज गायब पारिएको आन्दोलनरत चिकित्सकको आरोप छ ।  चिकित्सकहरुले गायब पारिएको उक्त सिसिटीभी फुटेज उपलब्ध गराउनुपर्ने, दोषीमाथि कारवाही हुनुपर्ने माग राख्दैं आन्दोलन गरेका थिए ।

२१ जेठमा आन्दोलनरत चिकित्सक, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधी र स्वास्थ्य मन्त्रालयबीच सिसिटीभी फुटेज प्रकरण र हातपातमा संलग्नलाई तीन दिनभित्र कारवाहीको दायरामा ल्याउने सहमति भएको थियो । उक्त सहमतिप्रति केही चिकित्सकहरू भने असन्तुष्ट रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई उक्त घटनाको अनुसन्धानका लागि आग्रह गरेको थियो । शुक्रबार सिसिटीभी फुटेज गायब गरिएको घटना अनुसन्धान गर्न प्रहरीले सिसिटीभी फुटेजसँग सम्बन्धित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

नेपाल मेडिकल कलेजमा चिकित्सकमाथिको हातपात घटनापछि नेपाल चिकित्सक संघ, गैरसकारी चिकित्सक संघ, नेपाल रेसिडेन्ट डक्टर्स एशोसिएसन, रेसिडेन्ट एशोसिएसन अफ काठमाडाैं युनिभर्सिटी, रेसिडेन्ट एशोसिएसन अफ न्याम्स, जुनियर वेलफेयर सोसाइटीलगायतका पेशागत  संगठनले दोषीमाथि कारवाही गर्नुपर्ने माग गर्दै आएका छन् ।

नेपाल चिकित्सक संघका सदस्यसमेत रहेका डा. रितेश थापाले सुरुका दिनदेखि आफूहरुले नेपाल मेडिकल कलेजको घटनाका विषयमा अनुसन्धान गरिरहेको बताए । डा थापाले नेपाल चिकित्सक संघ र पीडितहरूको उपस्थिती बिना भएका कुनै पनि सहमति मान्य नहुने बताए । विषम परिस्थितिमा खटेका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति र सिसिटिभी फुटेज डिलिट गर्ने प्रशासनका कर्मचारी माथि कारबाही हुनुपर्ने थापाले बताए ।

त्यस्तै नेपाल मेडिकल कलेजले पनि अनुसन्धान चलिरहेकाले आईटीमा कार्यरत १ जना कर्मचारीलाई निलम्बन गरेको छ ।

चिकित्सक हातपातको घटनामा अनुसन्धान जारी (अडियोसहित)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ