२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं मेडिकल कलेजले आजैबाट सबै सेवा सुचारु गर्ने

काठमाडौं मेडिकल कलेजले आजैबाट सबै सेवा सुचारु गर्ने


काठमाडौं—काठमाडौं मेडिकल कलेज (केएमसी)ले सिनामंगलस्थित अस्पतालबाट आकस्मिकसहितका सबै अन्तरंग र बहिरंग सेवाहरु आज साँझबाट सुचारु गर्ने भएको छ । केएमसीले लकडाउनका निरन्तर सेवा प्रवाह गरिरहेका बेला २ जना बिरामी र तीन जना स्वास्थ्यकर्मीमा कोभिड—१९ पोजेटिभ देखिएपछि निर्मुलीकरणका लागि केही दिन सेवा बन्द गरेको थियो ।

काठमाडौं मेडिकल कलेजकी प्रिन्सिपल डा. चन्दा कार्कीले अस्पतालका सबै कक्षहरु निर्मुलीकरणपछि शुक्रबार साँझ ५ बजेबाट अस्पतालका सबै सेवाहरु नियमित गरिने बताइन् । ‘हामीले लकडाउनको अवधिमा पनि सेवा दिइरहेका थियौं,’ उनले हेल्थ आवाजसँग भनिन्, ‘बीचमा २ जना बिरामी र ३ जना स्वास्थ्यकर्मीमा कोभिड—१९ पोजेटिभ देखिएपछि निर्मुलीकरणका लागि अस्पताल बन्द गरेका थियौं । सबै सुरक्षा प्रक्रिया पूरा गरेपछि आजबाट सबै सेवाहरु सुचारु गर्दैछौं ।’

डा. कार्कीले लकडाउनको अवधिमा पनि अस्पतालले एक जिम्मेवार संस्थाको नाताले सरकारको हात बलियो पार्नुपर्छ भनेर सतर्कतापूर्वक बिरामीको जीवन रक्षाका लागि सेवामा अग्रसर रहेको उल्लेख गरिन् ।

केएमसी अस्पतालका निर्देशक प्रा.डा. मुकुन्दराज जोशीकाअनुसार अस्पतालले १३ वटा सेवाहरु नियमित गरेको हो । उनकाअनुसार युरो सर्जरी, जनरल सर्जरी, न्यूरो सर्जरी, न्युरोलोजी, कार्डियोलोजी, डाइलाइसिस, रेडियोलोजी, साइक्याट्रिक, पेड्रियाट्रिक, इएनटी, डर्माटोलोजी, प्याथोलोजी र कम्युनिटी मेडिसिन रहेका छन् ।

अस्पताल प्रशासनकाअनुसार लकडाउनको अवधिभर केएमसी अस्पतालबाट करिब २५ हजारभन्दा बढीले सेवा लिएका थिए भने करिब ४७ जनालाई कोभिड अस्पताल तथा सिनामंगलस्थित अस्पतालको आइसोलेसन वार्डमा राखी सेवा प्रदान गरिएको थियो । मेडिकल कलेजले नेपाल सरकारको निर्देशन एवं मापदण्डका पालना गर्दै कोभिड स्क्रिनिङ क्लिनिक समेत सन्चाल गरेको थियो भने दुवाकोट अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेको थियो । सिनामंगलस्थित अस्पतालबाट भने जनरल स्वास्थ सेवा प्रवाह गर्दै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ