काठमाडौं—सरकारले कोभिड—१९ संक्रमणसँगै अन्य जटिल समस्या पनि देखिएमा त्यस्ता बिरामीको उपचार गर्नका लागि तीन वटा अस्पताललाई तोकेको छ । ती तीन अस्पतालमा पूर्वमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मध्यमा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र पश्चिममा नेपालगन्ज मेडिकल कलेज कोहलपुर रहेका छन् ।
अति विशेषज्ञता सम्पन्न भनेर लेभल थ्री नाम दिइएका यी अस्पतालमा कोभिड—१९ संक्रमित देखिँदा भने अन्योलता सिर्जना भएको पाइएको छ । १ जेठमा कपिलवस्तुकी ६ वर्षीया बालिका जो नाक, कान, घाँटीको समस्या लिएर उपचारका लागि आएकी थिइन् उनमा कोभिड—१९ संक्रमण देखिएको थियो । ती बालिकामा कोभिड संक्रमण पुष्टि भएपछि दिनभर त्रिवि शिक्षण अस्पतालको सेवा नै अवरुद्ध भएको थियो ।
त्यसैगरी, ४ जेठमा जिल्ला अस्पताल धनकुटाकी एक नर्समा कोभिड—१९ देखिएको थियो । धनकुटा अस्पतालमा सुत्केरी गराउन ल्याइएकी एक गर्भवतीलाई दुई दिनअघि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो । कन्ट्रयाक्ट ट्रेसिङ गर्दै जाँदा ती गर्भवती महिलालाई धनकुटामा रहँदा तिनै नर्सले जाँच पडताल गरेको पत्ता लाग्यो । ती नर्सले जाँच गरेको प्रतिष्ठानका नर्स तथा चिकित्सकहरुले थाहा पाएपछि सो दिन बाहिरबाट आउने बिरामी नै भर्ना लिइएन र प्रसुती वार्ड नै सिल गरियो ।
ती नर्समा कोभिड—१९ पुष्टि भएपछि उता धनकुटा जिल्ला अस्पताल ७ दिनसम्म बन्द रह्यो । ६६ जना कर्मचारी रहेको अस्पताल एकै पटक बन्द भयो । ५ जनामा संक्रमण पुष्टि भएकाले आइसोलेसनमा राखियो भने बाँकी ६१ कर्मचारी अहिले पनि क्वारेन्टाइनमा छन् । आइतबारदेखि विपी प्रतिष्ठानका ६ जना चिकित्सक तथा नर्स गएर धनकुटा अस्पतालमा आकस्मिक सेवा सुचारु गरेका छन् ।
जिल्ला अस्पताल धनकुटाका प्रमुख डा. पुजन विश्वकर्मा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले बनाएको संक्रमितसँगको सम्पर्कको खोज पड्ताल सम्बन्धि निर्देशिकाअनुसार अस्पताल नै पूरै बन्द गरेर क्वारेन्टाइनमा बस्नुपरेको दुखेसो पोख्छन् । ‘अस्पताल नै बन्द गरेर क्वारेन्टाइनमा बस्नुपर्दा हामीलाई पनि असजिलो भएको छ,’ उनी भन्छन्, ‘समस्या छ, हामीले मात्रै डिसिजन गरेर हुँदैन रहेछ । माथिबाट नीतिगत निर्णयको पर्खाइमा छौं ।’
रुपन्देहीको तिलोत्तमा—५ मणिग्रामस्थित क्रिमसन अस्पतालमा ५ दिनयता बन्द छ । १ जेठमा उपचारका लागि भर्ना भएका गुल्मी मदानेका ४१ वर्षीय शिक्षकमा ५ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो । आईसियुमा भेन्टिलेटरमा राखेर उपचार भैरहेका उनको ७ जेठमा मृत्यु भएको थियो । लकडाउनमा समेत ओपीडी सेवा दिइरहेको सो अस्पताल १ जना बिरामीमा कोरोना देखिनासाथ बन्द भएको छ । अस्पतालका प्रशासकीय अधिकृत मनमोहन भट्टराईकाअनुसार अस्पतालमा काम गरिरहेका २९ जनाको स्वाब परीक्षण भएर नतिजा नेगेटिभ आएतापनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएका कारण अस्पताल बन्द भएको हो । ‘स्वास्थ्य निर्देशनालयको निर्देशनअनुसार अस्पताल सिल भएको छ,’ उनले भने, ‘निर्देशनालयको अर्को निर्देशन नआउन्जेल हामी केही गर्न सक्दैनौं ।’
९ जेठमा काठमाडौंका दुई ठूला अस्पतालमा कोभिड—१९ संक्रमित देखिए । त्रिविअन्तर्गतको मनमोहन कार्डियोभास्कुलर ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज उपचारकै लागि आएकी हेटौडाकी एक महिलामा कोरोना पुष्टि भयो । त्यसैगरी, टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको ल्याबमा काम गर्ने एक युवामा पनि कोरोना पोजेटिभ देखियो । कोरोना पुष्टि भएका यी दुवै अस्पताल शनिबार दिनभर अस्तव्यस्त रहे । उपचारका लागि आएका सेवाग्राहीहरु अलमलमा परे । कन्ट्याक्ट ट्रेसिङको नाममा अस्पताल सिल भए ।
तर, ट्रान्सप्लान्ट सेन्टरका निर्देशक उत्तमकृष्ण श्रेष्ठ भने सेवा अवरुद्ध नभएको दावी गर्छन् । ‘हिजो शनिबार हो, सेवा आफै बन्द भैहाल्यो नि,’ उनी भन्छन्, ‘अहिले इमर्जेन्सी, ओपीडीलगायतका सबै सेवाहरु नियमित छन् ।’ तर, एक जना बिरामीमा संक्रमित हुँदा १५ जना चिकित्सकसहित सो अस्पतालका ४० जना नर्स तथा कर्मचारी क्वारेन्टाइनमा छन् । हेटौडाबाट काठमाडौं आएकी ती महिलाले पहिले उपचार गरिएको हेटौडा अस्पताल पनि अहिले सिल गरिएको छ । बिरामीको सम्पर्कमा आएका २० जनाभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ ।
त्यस्तै, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पनि संक्रमित युवाले काम गर्ने विभाग बन्द गरेको छ भने सो विभाग र उनीसँग सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राखेको छ ।
यी माथिका दृष्टान्तहरुले कोभिड—१९ को नेपालमा पहिलो संक्रमण पुष्टि भएको ४ महिना बितिसक्दा पनि अस्पताल अझै गम्भीर छैनन् र तयारी फितलो छ भन्ने देखाउँछ । अस्पतालमा एउटा कोभिड—१९ को पोजेटिभ केस देखिनासाथ अस्पताल नै बन्द गर्ने अवस्था आउनु भनेको कोभिड—१९ का बारेमा अस्पतालहरुले राम्रो तयारी नगरेको भन्ने देखिन्छ ।
कोभिड—१९ संक्रमण देखिनासाथ अस्पताल सिल गर्नुपर्छ भन्ने नियम कही पनि नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बताउँछन् । ‘तत्काल कन्ट्याक्ट ट्रेसिङका लागि निश्चित ठाउँलाई केही घण्टाका लागि कडा गरिनु सामान्य हो,’ उनी भन्छन्, ‘तर, अस्पताल नै सिल गर्ने भन्ने कोभिड—१९ को कुनै पनि गाइडलाइनमा छैन ।’ अस्पताल सिल नै गर्नुपर्ने र अस्तव्यस्त वातावरण सिर्जना हुनु भनेको कोभिड—१९ का संक्रमितहरु आउलान है भनेर त्यसप्रति पूर्व तयारी नगर्नुको परिणाम रहेको उनको भनाइ छ ।
यसरी एउटा संक्रमण देखिनासाथ अस्पतालका सबै सेवा बन्द गरेर सिल गर्ने परिपाटीले कोरोनाभन्दा अन्य रोगका बिरामीहरुलाई बढी मार पर्ने त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका जनस्वास्थ्यविद् प्रा.डा. शरद वन्त बताउँछन् । ‘हामी सबैभन्दा बढी चुकेको ठाउँ नै अस्पतालमा अन्य बिरामीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा हो,’ उनी भन्छन्, ‘विश्वमा कोरोना यसरी फैलिएको छ, कोरोना उपचार हुने अस्पतालभन्दा अन्त संक्रमित बिरामी नै आउँदैनन् भन्ने हुँदैन् ।’
उनकाअनुसार त्यसैले अस्पतालहरुले अन्य बिरामीहरुको उपचारसँगै कोरोना संक्रमित बिरामी आएमा त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने योजना प्रत्येक अस्पतालले बनाउनुपर्छ । संकटको यो अवस्थामा कमभन्दा कम चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुले बिरामीको हेरचाह गर्ने गरी तयारी गर्नुपर्ने उनको भनाइ छ । तर, एक जना बिरामी संक्रमित देखिदैंमा दर्जना चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन गर्नुपर्ने अवस्था आउनु भनेको महामारीको पूर्व तयारीमा गम्भीर लापरवाही हो भन्ने देखिन्छ ।