काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २७ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ। मंगलबार मन्त्रालयको नियमित ब्रिफिङमा विभिन्न जिल्लामा थप २७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका हुन्।
प्रवक्ता डा. देवकोटाकाअनुसार संक्रमित हुनेमा ललितपुरमा १, काठमाडौँमा ३, झापामा ९, मोरङमा १, सुनसरीको १, कपिलबस्तुमा ४, सर्लाहीमा २, मकवानपुरमा १, सिन्धुलीमा १, रामेछापमा १, लमजुंगमा १, नवलपरासीको १ र भक्तपुरमा १ गरी २७ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३ महिला र २४ पुरुष रहेका छन् ।
जसमध्ये ४ जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । यसरी पहिलो पटक कोरोना संक्रमित भेटिने जिल्लामा ललितपुर, सिन्धुली, रामेछाप र लमजुङ रहेका छन् ।
नेपालभर गरेर ३६ जिल्लामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा संक्रमितको संख्या ४ सय २ पुगेको छ। हालसम्म संक्रमितहरु मध्ये ३७ जना निको भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।