२०८१ पुस २०, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकार्वाहीका लागि बोलाइएको होइनः सहसचिव विष्ट, पत्र पाएको छैन : डा. पुन

कार्वाहीका लागि बोलाइएको होइनः सहसचिव विष्ट, पत्र पाएको छैन : डा. पुन


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन शाखाका प्रमुख सहसचिव रघुराम विष्टले टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई कार्वाहीका लागि नभएर छलफलका लागि मन्त्रालय बोलाइएको बताएका छन् ।

उनले डा. पुनले कोभिड–१९ को विषयमा विभिन्न संचारमाध्यममा लेखेका लेखहरुको विषयमा छलफल गर्न बोलाइएको बताए । ‘बाहिर कार्वाही भनेर हल्ला आएछ,’ उनले भने, ‘विभिन्न सन्चारमाध्यममा उहाँले लेखेका लेखहरुको विषयमा छलफलका लागि बोलाइएको हो ।’ यसअघि मौखिक रुपमा बोलाउँदा नआएपछि पत्र काटेर बोलाइएको उनले बताए ।

मन्त्रालयले कार्वाहीका लागि बोलाएको विषयमा डा. पुनसँग जानकारी लिदा आफूले पत्र नपाएको र बाहिर मन्त्रालय बोलाइएकोबारे जानकारी पाएको बताए । ‘पत्र हिजो ढिलो अस्पतालमा आएको थियो भन्ने सुनेको छु,’ उनले हेल्थ आवाजसँग भने, ‘आज शनिबार भयो भोलि पत्र पाइएला अनि के रहेछ थाहा हुन्छ ।’

डा. पुनले आफूले राज्यलाई हानी गर्ने कुनै पनि कुरा नगरेको दावी गरे । उनले बरु आफूले जानेको कुरा जनतालाई सचेतनाका लागि संचार माध्यममार्फत दिएको बताए । ‘मैले देशद्रोहको काम गरेको छैन । जनतालाई सुसूचित गर्ने काम गरेको हो,’ उनले भने, ‘त्यत्रो कंगोमा नेपालीले हैजा फैलाएभन्दा अन्तर्राष्ट्रियस्तरका जर्नलमा नेपालको गल्ती छैन भनेर लेख्ने मान्छे हुँ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ