२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रदेश सरकारका निर्णयः २० भेन्टिलेटर खरिद गर्नेदेखि संचारकर्मीलाई १५ लाख बिमासम्म

प्रदेश सरकारका निर्णयः २० भेन्टिलेटर खरिद गर्नेदेखि संचारकर्मीलाई १५ लाख बिमासम्म


धनगढी–सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरु गरेको छ । सुदूरपश्चिमका जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरिएको छ ।

प्रदेश सरकारले सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको जानकारी दिए । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका गम्भीर बिरामीको उपचारका लागि भेन्टिलेटर अति आवश्यक भएपनि सुदूरपश्चिमका अस्पतालमा अभाव छ ।

सुदूरपश्चिम प्रदेश सरकारले सञ्चारकर्मीका लागि १५ लाखको बिमा योजना ल्याएको छ । प्रदेश भित्रका सञ्चारकर्मीका लागि १५ लाखको बिमा गर्ने निर्णय गरेको प्रवक्ता शाहले जानकारी दिए ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले अति विपन्न, असहाय तथा ज्यादारी गरिखाने मजदुरका परिवारका लागि राहत प्याकेज ल्याएको छ ।बैठकले अति विपन्न, असहाय र ज्यालादारी मजदूरका परिवारलाई तीन हजारका दरले राहत वितरण गर्न १६ करोड बजेट छुट्याएको हो ।

भेन्टिलेटरको अभाव

अहिले सेती प्रादेशिक अस्पतालमा दुईवटा भेन्टिलेटरसहित पाँच शैय्याको आईसियु सेवा सञ्चालनमा रहेपनि कोरोनाका बिरामीलाई उपचार गर्न नमिल्ने भएकाले थप दुई वटा खरिदको प्रक्रिया थालिएको छ । महाकाली अस्पतालमा पनि एउटा भेन्टिलेटर रहेकोमा थप एउटा खरिदको प्रक्रिया थालेको जनाएको छ ।

सेतीलाई निक साइमन इन्स्टिच्युटले पनि अनुदानमा थप दुई वटा भेन्टिलेटर उपलब्ध गराएको छ । अस्पतालले अहिले खरिदको प्रक्रिया थालेको दुई र अनुदानका समेत गरी सेतीमा चार वटा भेन्टिलेटर थप हुनेछन् भने महाकालीमा दुई वटा पुग्नेछन् ।

जिल्ला अस्पतालका लागि समेत खरिद भए प्रदेशभर २८ वटा भेन्टिलेटर पुग्ने भएकाले कोरोना भाईरसको महामारी फैलिएमा गम्भीर विरामीको उपचारमा सहज हुने विश्वास गरिएको छ ।

यसअघि प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले १५ वटा भेन्टिलेटर र आईसियु खरिदका लागि सामाजिक विकास मन्त्रालयलाई प्रस्ताव गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ