२०८१ मंसीर २, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोनाविरुद्धको लडाइ सफल पार्न सामूहिक रुपमा लडौ : मन्त्री ढकाल

कोरोनाविरुद्धको लडाइ सफल पार्न सामूहिक रुपमा लडौ : मन्त्री ढकाल


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जुन अस्पतालमा कोरानाको बिरामीको उपचार हुन्छ त्यो अस्पताल पूर्ण रुपमा कोरोनाकै उपचारका लागि प्रयोग गरिने बताएका छन् । कोराना उपचारको तयारीबारे विभिन्न ६ वटा अस्पतालको अनुगमन गरेर फर्किएको टोलीसँग सोमबार मन्त्रालयमा वैठक बसी मन्त्री ढकालले  कोरोनाका बिरामीको उपचार हुने अस्पताल पूर्ण रुपमा कोरोनाको उपचारमा मात्र प्रयोग गरिने बताएका हुन् ।

मन्त्री ढकालले टेकु, पाटन र सशस्त्र प्रहरीको अस्पताल पूर्ण रुपमा कोरोनाका लागि उपचार सुरु गराउने र ती अस्पताल भरिएपछि मात्र अन्य अस्पतालमा उपचार गराउने जानकारी दिए। उनले सबै मिलेर काम गर्दा मात्र सफलता प्राप्त गर्न सकिने भन्दै कोरोनाविरुद्धको लडाईमा पनि सामुहिकरुपमै काम गर्नुपर्ने जनाए ।

उनले भने, ‘एक व्यक्तिलेभन्दा सामूहिक रुपमा काम गर्दा राम्रो हुन्छ र त्यो सफल पनि हुन्छ ।’ उनले जस्तो सुकै चुनौती पनि सामूहिकताको माध्यमबाट सामना गर्न सकिने भएकाले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्दै कामहरु अघि बढाउनुपर्ने बताए ।

मन्त्री ढकालले स्वास्थ्यकर्मी र चिकित्सकलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताउँदै उच्च मनोबलका साथ काम गराउन विभिन्न काउन्सिलका पदाधिकारीलाई निर्देशन पनि दिए । कोराना उपचारका लागि तयार गरिएका अस्पतालहरुको तयारीका बारेमा अनुगमन टोलीको तर्फबाट नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार कृष्ण अधिकारीले अस्पतालहरुको अवस्थाको बारेमा बताएका थिए ।

टोलीले कोराना उपचारको तयारीबारे विभिन्न ६ वटा अस्पतालको अनुगमन गरेको थियो । जसमा त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, सिभिल अस्पताल, केएमसी अस्पताल रहेका छन । अनुगमनमा ६ वटै अस्पतालहरु कोरानाको उपचारका लागि पूर्ण रुपमा तयार भएको पाइएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ