२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मीलाई आधारभूत सुरक्षा सामाग्री उपलब्ध गराउन चिकित्सक संघको माग

स्वास्थ्यकर्मीलाई आधारभूत सुरक्षा सामाग्री उपलब्ध गराउन चिकित्सक संघको माग


काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए)ले अहिलेको विषम अवस्थामा स्वास्थ्यकर्मीलाई उपचार प्रक्रियामा आवश्यक पर्ने आधारभूत सुरक्षा सामाग्री उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।  शुक्रबार संघका महासचिव डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै नेपाल मेडिकल काउन्सिल तथा स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनले सिफारिस गरे बमोजिमका सुरक्षा सामाग्री उपलब्ध गराउन माग गरेको हो ।

संघले ‘कोभिड-१९’ बाट संक्रमण भएका बिरामीहरुको उपचारमा संलग्न हुने डाक्टर, स्वास्थ्यकर्मीहरु ठूलो संख्यामा संक्रमणबाट ग्रसित भएको उल्लेख गर्दै आपतकालीन अवस्थामा आफ्नो ज्यानको बाजी राखी अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री उपलब्ध गराउन माग गरेको हो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीले आधारभूत सामाग्रीहरु माग गर्दा समेत जिम्मेवार निकायका व्यक्तिहरुले ’पीपीई’ बारे हल्का टिक्काटिप्पणी गरी मनोबल गिराउने खालको अभिव्यक्ति दिएको भन्दै संघले दुःख व्यक्त गरेको छ ।  संक्रमणको जोखिम मोल्दै उपचारमा संलग्न  हुने चिकित्सक तथा स्वास्थ्यकर्मीको जीवन बिमा, स्वास्थ्य विमा र विशेष विमाको व्यवस्था गरी मनोबल बढाउन समेत संघले सरकारसँग माग गरेको छ ।

साथै, विश्व स्वास्थ्य क्षेत्र नै संकटमा परेको अवस्थामा नेपालका सरकारी तथा निजी अस्पताल, मेडिकल कलेजहरुले नियमित ओपिडी सेवा तत्काल बन्द गरी आकस्मिक सेवा तथा ज्वरो क्लिनिक संचालन गर्न समेत संघले अपिल गरेको छ । यस्तै, संघले सरकारका ३ वटै तह संघ, प्रदेश र स्थानीय निकायबीच समन्वय गरी भूमिका निर्वाह गर्दै कोरोना भाइरस सम्बन्धि अभियानलाई सहज बनाउन सरकारले ठोस कदम चाल्नु पर्ने ठहर समेत गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ