२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड-१९ तयारीः पीपीई, रिएजेन्ट र टेष्ट किट लिन नेपाल एयरलाइन्स शनिबार चीन जाँदैं

कोभिड-१९ तयारीः पीपीई, रिएजेन्ट र टेष्ट किट लिन नेपाल एयरलाइन्स शनिबार चीन जाँदैं


काठमाडौं–कोभिड-१९ नियन्त्रण तयारीका लागि आवश्यक औषधि तथा उपकरण लिनका लागि शनिबार नेपाल एयरलाइन्सको हवाईजहाज चीनको ग्वान्जाओ जाने भएको छ ।

नेपाललाई आवश्यक सामाग्री शनिबार विहानसम्म चीनको ग्वान्जाओमा संकलन भइसक्ने र सोही दिन नेपाल एयरलाइन्सले सामाग्री लिएर फर्कने गरी सरकारले तयारी गरेको छ । औषधिजन्य सामाग्री ल्याउने समन्वय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेका छन् ।

करिव ३५ टन सामाग्री शनिबार बेलुकासम्म नेपालमा ल्याउने तयारी गरेको मन्त्रालयको उच्चस्रोतले जानकारी दियो । स्रोतका अनुसार चीनबाट आउने सामाग्रीमा ५० हजार थान थ्री लेवल पर्सनल प्रोटेक्सन इक्वीपमेन्ट (पीपीई), १ लाख जनालाई जाँच्न पुग्ने कोभिड भाइरस रिएजेन्ट, १ लाख थान कोभिड ¥यापिड टेष्ट किट र अन्य आवश्यक औषधि तथा सामाग्री हुनेछन् ।

‘टेष्ट किट, कोभिड-१९ टेष्ट रिएजेन्ट, पीपीईलगायत सामाग्री गरी ३५ टनभन्दा बढी औषधि उपकरण आउदैंछ,’ स्रोतले भन्यो, ‘यो सबै नेपाल सरकारले द्रुत तरिकाबाट खरिद गरेको हो । सहयोगी देश तथा निकायबाट आउने सामाग्रीहरु विस्तारै आउदैछन् ।’

नेपालमा हालसम्म विदेशबाट आएका तीन जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये एक जनाको उपचारपछि फर्किसकेका छन् भने दुई जनाको उपचार भइरहेको छ । पीपीई नभएको भन्दै विभिन्न अस्पताल तथा स्वास्थ्यकर्मीले सरकारको आलोचना गरिरहेका बेला सरकारले ठूलो परिणाममा पीपीई ल्याउन लागेको हो ।

कोभिड-१९ परिक्षणका अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्र गरिदै आएकोमा सरकारले सबै प्रदेशमा जाँच गर्ने तयारी गरिरहेको बेला टेष्ट किट र रिएजेन्ट पनि पर्याप्त मात्रामा ल्याउन लागिएको स्रोतले जानकारी दियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ