काठमाडौं— मादक पदार्थ सेवन गरेवापत लिइने सचेतना कक्षा नहुने भएको छ। विश्वभर फैलिदै गएको (कोभिड-१९)को संक्रमणलाई मध्यनजर गरी यसबाट बच्न सतर्कता अपनाउँदै महानगरीय प्रहरी महाशाखाले उक्त कक्षा हटाएको हो।
महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले हाललाई मापसे कक्षाहरु स्थगित गरिएको बताए । ‘हाललाई हामीले मापसे कक्षाहरु स्थगित गरेका छौं,’ उनले भने ।
ट्राफिक प्रहरीले सडकमा ‘प्ले कार्ड’ बोकेर सचेतना फैलाइरहेका छन्। नियम उल्लघन गरेको पाइएमा नियमानुसारको जरिवाना लिने प्रावधान भने यथावत छ।
साथै, भिडभाड नगर्न, आवश्यकता भन्दा बढी यात्रु ओसारपोसार नगर्न, मास्क लगाएर यात्रा गर्न, ‘तीव्र रुपले सवारी नहाँकौं र मापसे नगरी सवारी चलाउँ ’ जस्ता सन्देशहरु ‘प्ले कार्ड’ मार्फत ट्राफिकले दिईरहेका छन् ।
यस्तै दिनहुँ जाँच हुँदै आएको मापसे लगायत अन्य चेकिङहरू पनि खुकुलो बनाइएको छ।