२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज दिने अस्पतालको तयारी

प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज दिने अस्पतालको तयारी


काठमाडौं—गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार डिस्चार्ज दिने तयारी अस्पतालले गरेको छ । त्यसका लागि दिउँसो साढे ३ बजे शिक्षण अस्पतालले पत्रकार सम्मेलनको तयारी गरेको छ ।

यसअघि ओलीको पिसाब बाहिर निकाल्न प्रयोग गरिएको ‘क्याथेटर’ र पेटमा राखिएको ‘ड्रेन’ पाइप निकालिएको छ । उपचारमा संलग्न चिकित्सक प्रा.डा प्रेम ज्ञवालीका अनुसार पिसाब फेर्न सहज होस भनेर राखिएको ‘क्याथेटर’ पाइप सोमबार साँझ निकालिएको हो ।

त्यस्तै, मंगलबार पेटमा राखिएको ‘ड्रेन’ पाइप पनि झिकिएको छ । अस्पताल स्रोतका अनुसार मंगलबार साँझ प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको छ । प्रत्यारोपण गरेको व्यक्तिलाई पाँच दिनमा डिस्चार्ज दिने गरिन्छ । तर, प्रधानमन्त्रीलाई संक्रमण नहोस् भनेर चिकित्सकहरुले थप दुई दिन राखेको बताएका छन् ।

गत बुधबार प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो । स्वास्थ्यमा सुधार देखिएपछि चिकित्सकहरुले दुवै ठाउँमा राखेको पाइप झिकेका हुन् । शल्यक्रिया गरेर उनलाई पिसाब फेर्न सहज होस भनेर ‘क्याथेटर’ पाइप जोडिन्छ । त्यसैगरी शल्यक्रिया पछि रसाउने रगत र पानीको मात्रा बाहिर निकाल्न पेटमा पनि पाइप राखिएको हुन्छ ।

प्रधानमन्त्री अस्पताल भित्रै फिजियोथेरापी र हिडडुल गरिरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा प्रेम कृष्ण खड्गाले बताए । संक्रमणको जोखिमका कारण चिकित्सकहरुले बाहिरी मान्छेलाई प्रधानमन्त्री भेट्न दिइएका छैनन् ।

उनलाई मिर्गौला दान दिने भान्जी समीक्षा संग्रौला ज्ञवालीको पनि स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । प्रधानमन्त्री र उनकी भान्जी समीक्षालाई एकै पटक डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।

ओलीले ०६४ सालमा पहिलो पटक भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए । प्रत्यारोपणको १२ वर्षपछि क्रमसः मिर्गौलाको कार्यक्षमतामा ह्रास आउन थालेपछि कात्तिक १४ देखि उनी नियमित डायलासिसमा बसेका थिए । तर, डायलासिसभन्दा प्रत्यारोपण गर्नु उत्तम भएको चिकित्सकहरुले सुझाव दिएपछि प्रधानमन्त्री दोस्रो मिर्गौला प्रत्यारोपण गरेका हुन् ।

१२ जनामा दोस्रो पटक मिर्गौला प्रत्यारोपण

सन् २००८ देखि मिर्गौला प्रत्यारोपण सुरु भएको नेपालमा अहिले सम्म १२ जनाको दोस्रो पटक पनि मिर्गौला प्रत्यारोपण गरिएको छ । ९ वटा शिक्षण अस्पतालमा दुई वटा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र र एक ग्राण्डी अन्तर्राष्टिय अस्पतालमा भएको छ । ती सबै सफल भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ