काठमाडौं—कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले एक वर्षका उपलब्धिहरु सार्वजनिक गरेका छन् । बुधबार एक वर्षका उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री कँडेलले सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्यतर्फका ७ वटा उपलब्धि सार्वजनिक गरेका छन् ।
जसमा डोल्पा जिल्ला अस्पतालको भवन निर्माण सम्पन्न भई नयाँ भवनबाट सेवा सञ्चालनमा ल्याएकोदेखि प्रदेशका १०—१३ वर्ष उमेर समूहका ९९५०९ जना किशोरीलाई एचपीभी भ्याक्सिन दिइएको उल्लेख छ ।
मुख्यमन्त्री कँडेलले बैशाख २०८१ देखि हालसम्म प्रदेशका १३ लाख ३६ हजार जनसंख्यालाई अस्पताल सेवा दिइएको आफ्नो उपलब्धि रिपोर्टमा उल्लेख गरेका छन् । यसैगरी, कर्णाली प्रदेश अस्पताल स्तरोन्नती गर्न उच्चस्तरीय समिति गठन गरेर प्रतिवेदन पेश भएको, डोल्पा र जुम्लामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको पनि उपलब्धिमा छ ।
कर्णालीका मुख्यमन्त्रीले स्थानीय तहमा कार्यरत विशेषज्ञ चिकित्सकलाई प्रदेश/जिल्ला अस्पताल खटाइएको र स्थानीय तहमा मेडिकल अधिकृतहरुलाई कामकाजमा पठाउन थालिएको आफ्नो उपलब्धि रिपोर्टमा समेटेका छन् । यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई मेसिनरी तथा औजार खरिदका लागि १ करोड बजेटको अख्तियारी प्रदान गरिएको पनि उनको उपलब्धिमा छ ।
२८ चैत २०८० मा कँडेल कर्णालीको मुख्यमन्त्री बनेका थिए ।
मुख्यमन्त्रीको एक वर्ष सामाजिक विकास मन्त्रालयमा भएका उपलब्धिहरु
