वीरेन्द्रनगर—गर्मी यामलागेसँगै बढेको वाययु प्रदुषणले मानिसहरुमा बढी प्रभाव पार्न लागेपछि सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन् । उनीहरुले गर्मी याममा वन जंगलमा लागेको अत्याधिक डढेलो, गाडी मोटरको धुँवा, खडेरीले धुलो उडेकोजस्ता कारणले वायु प्रदुषण बढेको हुँदा त्यसको असर मानव स्वास्थ्यमा परेकाले सचेत रहन सुझाव दिएका हुन्।
वायु प्रदुषण बढेसँगै आँखा पोल्ने, ओठ मुख सुक्ने, घाँटी दुख्ने, शरीर चिलाउने, ज्वरो आउने, रुखा खोकी लाग्नेजस्ता रोगको संक्रमण बढेको पाइएको छ । विशेषगरी बालबालिका बढी प्रभावित भएका छन् । राजधानी काठमाडौंमा त अत्याधिक प्रदुषणले गर्दा मानव स्वास्थ्यमा असर पारेको छ ।
कर्णाली प्रदेश राजधानी सुर्खेतमा काठमाडौं जतिको असर नपरेपनि प्रदुषणको सुरुवात भइसकेको छ । अस्पताल तथा निजी मेडिकलतर्फ विरामीहरु बढ्न थालेका छन् । सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसीले सुर्खेतमा पनि प्रदुषण बढ्ने क्रममा रहेको बताए । विशेषगरी बिहान र बेलुका प्रदुषित हावा आकाशमा नगई वायुमण्डलमै रहने भएकोले यसले बढी असर गर्ने उनले बताए । प्रदुषित हावा बढ्दै गएकोले यसबाट सचेत रही स्वास्थ्य सुरक्षा अपनाउन उनले आग्रह गरे ।
प्रदेश अस्पताल सुर्खेतमा पनि यसका फाट्टफुट्ट बिरामीहरु आउने गरेका छन् । अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले प्रदुषित वातावरणका कारण बिरामी नआएपनि अवस्था हेर्दा सचेतना अपनाउनुपर्ने बेला आएको बताए । उनले गर्मी लागेसँगै भाइरल ज्वरोका बिरामीहरु बढेको जानकारी दिए । दुषित वायु विशेषगरी सुर्खेतमा चिन्ताजनक अवस्था नभएको तर लापरवाही गर्न नहुनेमा उनको जोड छ ।घर बाहिर निस्कँदा मास्क लगाउने, धुवाँ धुलोमा सकभर नहिँड्ने, सरसफाइमा ध्यान दिने जस्ता स्वास्थ्य सावधानी अपनाउन उनले आग्रह गरे ।
दुषित वायुले दीर्घकालीन रोगले पनि सताउने गर्दछन् ।
डा. केसीले वायु प्रदुषणले दम रोग, मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोग बढाउँछ । यस्तै, सधैँ शिथिल बनाउने, रोग प्रतिरोधात्मक क्षमताको ह्रास, सिर्जनशीलताको कमी र यसबाट अन्य रोगहरु पनि लाग्न सक्ने बनाउने उनले बताए । उनले वायु मण्डललाई दुषित हुनबाट जोगाउन इन्धनबाट संचालन हुने गाडीहरुलाई निरुत्साहित गरी विद्युतीय गाडीको प्रयोगलाई बढावा दिनुपर्ने, वृक्षारोपण गरी हरियाली बढाउनुपर्ने र स्वास्थ्य सचेतता अपनाउनुपर्ने सुझाव पनि दिए ।