जुम्ला—प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको कार्य सम्पादन प्रसंशायोग्य रहेको बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सभाको ११ औं सिनेट बैठकलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले दुर्गम कर्णालीमा स्वास्थ्य सेवा प्रवाह, अध्यायन तथा अनुसन्धानमा प्रतिष्ठानले गरेको काम प्रसंशनीय रहेको बताएका हुन् ।
देशभरका सबै विश्वविद्यालय नीति, विधी, विद्यानअनुसार सञ्चालन हुनुपर्नेमा समेत प्रधानमन्त्री ओलीले जोड दिए । ‘कर्णाली प्रतिष्ठानद्वारा दैलेखको राकम कर्णालीमा सञ्चालन हुने स्याटेलाइट अस्पतालले कर्णालीसँगै सुदूरपश्चिमका नागरिकले समेत सेवा पाउने भएका छन्,’ उनले भने ।
अहिले पनि सुत्केरी हुन नसकेर हेलिकप्टरमा उद्दार गर्नुपर्ने अवस्था रहेकोले राकममा गुणस्तरीय प्रसूति सेवा पनि सञ्चालन गर्न समेत उनले निर्देशन दिएका छन् । कर्णाली प्रतिष्ठानको स्थापनापछि कर्णालीका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाएको कुरा स्मरण गर्दै प्रधानमन्त्री ओलीले कर्णाली प्रतिष्ठानको विकास र विस्तारमा आफू सधैँ सकारात्मक रहेको बताए । प्रतिष्ठानको सेवा विस्तार तथा पूर्वाधार विकासका लागि वर्तमान सरकार साथमा रहेको प्रधानमन्त्रीको भनाइ थियो ।
प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको कार्यसम्पादनको प्रशंसा गर्दै कुलपति ओलीले भने, ‘बजेट अभाव, नीति अभावले कर्णालीमा स्वास्थ्य सेवा र उपचारका काम रोकिनु हुन्न भन्ने मेरो मान्यता हो । राकममा अस्पताल सञ्चालन गर्नेदेखि प्रतिष्ठानको स्तरोन्नती गर्ने सवालमा सरकार गम्भीर छ । ठोस कार्ययोजनासहित अघि बढेमा सरकारले साथ दिन्छ । प्रतिष्ठान मात्र नभई समग्र कर्णालीको विकासका लागि म पहिल्यैदेखि गम्भीर र चिन्तित छु ।’
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले देशका अन्य प्रतिष्ठानभन्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई लगानीमा विशेष प्राथमिकता दिनुपर्ने बताए । प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री पौडेलले भौगोलिक रुपमा विकट कर्णालीको स्वास्थ्य क्षेत्रलाई माथि उठाउन उल्लेखीय भुमिका निर्वाह गरेको कर्णाली प्रतिष्ठानलाई अरुभन्दा प्राथमिकताका साथ लगानी गर्नुपर्नेमा जोड दिए ।
बैठकमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले आफ्नो चार वर्षे कार्यकालमा भएका प्रगतिहरु प्रस्तुत गरेका छन् । सिमित स्रोत साधनका बीच प्रतिष्ठानले कर्णालीसहित १३ जिल्लामा निरन्तर स्वास्थ्य सेवा प्रवाह गरिरहेको उनले बताए ।