वीरेन्द्रनगर—रुकुमपश्चिमको भूमे गाउँपालिकाले स्थापना गरेको ग्रामीण आँखा केन्द्रको स्थापना भएको छ । गाउँपालिकाको २० लाख रुपैयाँ तथा नेपाल आँखा कार्यक्रम तिलगंगा प्रतिष्ठान गौशाला काठमाडौंको २० लाख रुपैयाँ गरी कुल ४० लाख रुपैयाँ लागतमा पालिकाको केन्द्रमा खाबाङ बगरमा आँखा केन्द्रको स्थापना गरिएको हो ।
नेपाल आँखा कार्यक्रम तिलगंगा प्रतिष्ठान गौशाला काठमाडौंको सहकार्य, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वय र द फ्रेद हलोज फाउन्डेसन अस्ट्रेलियाको सहयोग तथा भूमे गाउँपालिकाको आयोजनामा ग्रामीण आँखा केन्द्रको स्थापना गरिएको छ ।
यसअघि राप्ती आँखा उपचार केन्द्र रुकुमपश्चिम र जिल्ला अस्पताल रुकुम पूर्वबाट आँखाको उपचार गराउँदै आएका भूमे गाउँपालिका सर्वसाधारण तथा जिल्लावासीले खाबाङ बगरबाट सेवा पाउने भएका छन् ।
जिल्लावासीको सहजताको लागि भूमेमा ग्रामीण आँखा केन्द्रको स्थापन गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवीलाल विकले बताए । ‘नजिक आँखा उपचार केन्द्र नहुँदा जिल्लावासी जिल्ला बाहिर जाने बाध्यता थियो । त्यसलाई नै मध्यनजर गरेर हामीले आँखा केन्द्रको स्थापना गरेको हौं,’ उनले भने, ‘अब भूमे गाउँपालिकावासी मात्र नभई जिल्लावासीले सेवा पाउने छन् ।’
ग्रामीण आँखा केन्द्रबाट नियमित आँखाको चेक जाँच, चश्मा वितरण, आँखाको बाहिरी भागको उपचार औषधि वितरणलगायतका सेवा सुरु भएको छ ।