जुम्ला—जुम्लामा लागु औषध प्रयोगकर्ता युवासँग ट्रमाडोल भेटिन थालेको छ । ट्रमाडोल मार्फेसी तथा मेडिकलमा बेच्न पाइदैंन् । ट्रमाडोल प्रतिबन्धित औषधि हो । तर, लागु औषध प्रयोगकर्ता युवासँग यो औषधि भेटिन थालेको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदीलाल कामतीकाअनुसार २० फागुनमा प्रहरीलाई प्राप्त सूचनाअनुसार चन्दननाथ नगरपालिका–५ जुगाडखोला नजिक दुई युवालाई पक्राउ गरिएको थियो । ‘पक्राउ परेका युवा चन्दननाथ नगरपालिका–१ का २२ वर्षीय लक्की परियार र २२ वर्षीय प्रविन परियारको खानतलासी गर्दा प्रतिबन्धित ट्रमाडोल भेटिएको हो,’ उनले भने । उनीहरुबाट ४० वटा क्याप्सुल भेटिएको उनले जानकारी दिए ।
‘हामी अनुसन्धानकै क्रममा छौँ । ट्रमाडोल यहीको मेडिकलले बेचिरहेको हो कि बाहिरबाट नै आएको हो,’ उनले थपे । त्यस्तै, १८ फागुनमा चन्दननाथ नगरपालिका–७ खलाचौरस्थित भाइरल पुल नजिक सडक खण्डमा लागु औषध ब्राउन सुगर सेवन कर्ता र कारोबारीहरु रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोली उक्त स्थानाम खटी चन्दननाथ ७ बस्ने २८ वर्षीय शर्पराज रावललाई पक्राउ गरिएको छ ।
शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेला पारी तत्कालै खानतलासी गर्दा एक पुडिया फेला पारी सो पुडिया खोली हेर्दा लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ शुद्ध तौल एक सय पचास मिलिग्राम बरामद गरी अनुसन्धान भइरहेको डिएसपी कामतीले बताए ।