२०८१ फागुन १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाकोट र पुरुगाउँमा होम डेलिभरी शून्य

जुम्लाकोट र पुरुगाउँमा होम डेलिभरी शून्य

संस्थागत सुत्केरी हुने महिलाले समयमा पाउँदैनन् पोषण र प्रोत्साहन भत्ता


जुम्ला—तिला गाउँपालिका–८ नम्बर वडामा जुम्लाकोट र पुरुगाउँ रहेका छन् । यिनै दुई गाउँमा कार्यक्षेत्र रहेको जुम्लाकोट स्वास्थ्य चौकी रहेको छ ।

यसै जुम्लाकोट स्वास्थ्य चौकीमा गर्भवती महिलालाई सुरक्षित सुत्केरी गराउनको लागि बर्थिङ सेन्टर सञ्चालन गरिएको छ । यो बर्थिङ सेन्टर सुत्केरी गराउनका लागि अन्य वडाका महिलाहरु पनि आउने गर्छन् ।

गर्भवती महिलालाई सुरक्षित सुत्केरी गराउनका लागि आवासीय वर्थिङ सेन्टर रहेको छ । ‘गाउँघर नजिकै सुरक्षित बर्थिङ सेन्टर भएको हुनाले होम डेलिभरी शून्य रहेको छ,’ जुम्लाकोट स्वास्थ्य चौकी इन्चार्ज विराजु जिसी भन्छन्, ‘हामी स्वास्थ्यकर्मीले पनि सहज रुपमा सेवा प्रवाह गर्दै आएका छौं ।’

गाउँघरमा रहेको स्वास्थ्य चौकीको सेवा प्रवाहलाई गुणस्तरीय बनाउने आफू पनि लागि परेको उनी बताउँछन् । ‘यहाँका स्थानीयवासीलाई जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै हाम्रो प्रमुख लक्ष्य रहेको छ,’ इन्चार्ज जिसीले भने, ‘स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु¥याउनु हाम्रो दायित्व र जिम्मेवारी रहेको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुन आउनेका कुरुवालाई समेत खानासहितको व्यवस्थापन गरिएको छ । भौतिक संरचनालाई भरपुर प्रयोगमा ल्याएर सेवा प्रवाहलाई जनमुखी बनाएका छौं ।’

स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिन पालिकाको स्वास्थ्य शाखामै पुगेर औषधि ल्याउने गरिएको छ । जटिल अवस्थाका सुत्केरीलाई तुरुन्तै एम्बुलेन्सको व्यवस्थापन गरी सरदरकाम खलंगास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लैजाने गरिएको उनले बताए ।

तिला गाउँपालिका भित्र रहेका पाँच वटा स्वास्थ्य चौकी मध्ये अघिल्लो तीन वर्षमा सबैभन्दा बढी बर्थिङ सेन्टरमा सुत्केरी गराउनेमा जुम्लाकोट स्वास्थ्य चौकी पहिलो बनेको छ । आर्थिक वर्ष २०७९/८० मा ३७ जना, आर्थिक वर्ष २०८०/८१ मा ३३ जना र चालु आर्थिक वर्ष ०८१/८२ को माघ मसान्तसम्म २६ जना गरी जम्मा ८८ जनाले बर्थिङ सेन्टरमा सुत्केरी गराएका छन् । सोही तीन वर्ष भित्र १६ जनालाई रेफर गरिएको स्वास्थ्य चौकीका इन्चार्ज जिसीले बताए ।

त्यस्तै, तिला–९ मा रहेको राँसा स्वास्थ्य चौकीमा आर्थिक वर्ष २०७९/८० मा १९ जना, २०८०/८१ मा १८ जना र चालु आर्थिक वर्ष ०८१/८२ माघमा ६ जना गरी जम्मा ४३ जना बर्थिङ सेन्टरमा सुत्केरी भएको स्वास्थ्य चौकीमा इन्चार्ज दत्त रावतले बताए । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुदाँ सेवा प्रवाहमा समस्या हुने गरेको छ । पालिकाकाले स्थायी दरबन्दीमा करार नियुक्ति गर्दै आएको राँसा स्वास्थ्य चौकीले जनाएको छ ।

रारालिही स्वास्थ्य चौकीका अधिकृतं हिमाली खत्रीका अनुसार आर्थिक वर्ष २०७९/८० मा ४० जना र गत आर्थिक वर्ष ०८०/८१ मा २२ जना गरी जम्मा ६२ जनाले बर्थिङ सेन्टरबाट सुत्केरीले सेवा लिएका छन् । यो चालु आर्थिक वर्षको माघसम्म बर्थिङ सेन्टर बन्द हुँदा सुत्केरीले सेवा लिनबाट बञ्चित भएको स्वास्थ्य चौकीका अधिकृत खत्रीको भनाइ छ ।

मातृ र नवजात शिशुको मृत्युदर न्यूनीकरण गर्नका लागि राज्यस्तरदेखि गैरसरकारी संस्थाले उत्तिकै लगानी गरेको देखिन्छ । संस्थागत सुत्केरी गरी मातृ र नवजात शिशुको स्वास्थ्य सुरक्षाको लागनी हुने गरेपनि समयमा पोषण र प्रोत्साहन भत्ता सुत्केरी महिलाले पाउने गरेका छैनन् ।

जुम्लाकोट स्वास्थ्य चौकी इन्चार्ज जिसी भन्छन्, ‘सुत्केरी महिलालाई डिस्चार्ज गर्ने बेलामा पोषण र यातायात वापतको प्रोत्साहन भत्ता उपलव्ध गराउनुपर्ने हो । तर, चालु आर्थिक वर्षको माघ मसान्तसम्म सुत्केरी भएका महिलालाई उपलब्ध गराउन सकिएको छ ।’

उनकाअनुसार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत फेरबदल हुने र समयमा भुक्तानी आउने भएका कारणले पनि यो समस्या हुने गरेको छ । ‘स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठक बसी निर्णय गरेका छौं । अब छिट्टै गाउँपालिकाबाट भुक्तानी लिएर सुत्केरी महिलालाई पोषण र प्रोत्साहन भत्ता वितरण गर्नेछौं,’ उनले थपे ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ