२०८१ फागुन १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबर्थिङ सेन्टर बन्द हुँदा सेवाग्राहीलाई समस्या

बर्थिङ सेन्टर बन्द हुँदा सेवाग्राहीलाई समस्या


जुम्ला—तिला गाउँपालिका–२ डुण्डेलीस्थित रारालिही स्वास्थ्य चौकीको बर्थिङ सेन्टर ८ महिनादेखि बन्द हुँदा सुत्केरी महिलालाई समस्या भएको छ । चार महिना बर्थिङ सेन्टरको भवन निर्माणका लागि सेवा बन्द गरिएको थियो ।

तर, नयाँ भवन निर्माण भएको लामो समयसम्म पनि बर्थिङ सेन्टर सञ्चालन नहुँदा समस्या भएको हो । बर्थिङ सेन्टरभित्र चाहिने ताता, चिसो पानी र विद्युतको लाइन जोड्ने काम ढिलो हुँदा सेवा प्रवाह नभएको जनाइएको छ ।

अहिले प्रसूति हुने सबैलाई पालिकाको कुडारी स्वास्थ्य चौकी र सदरमुकाम खलङ्गामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याउनुपर्ने बाध्यता छ । गाउँको बर्थिङ सेन्टर बन्द हुँदा रातारात सदरमुकाम पुग्नुपर्ने, होटलमा खाने बस्ने प्रबन्ध गर्नुपर्दा धेरै खर्च हुने गरेको यहाँका स्थानीय जोखे बुढाले गुनासो गरे ।

रारालिही स्वास्थ्य चौकीका अधिकृत छैटौं हिमाली खत्रीका अनुसार बर्थिङ सेन्टर नयाँ भवन निर्माण सम्पन्न भइसक्दा पनि सञ्चालन हुन सकेको छैन । तालिम प्राप्त दक्ष प्रसूतिकर्मीबाट सेवा सञ्चालन हुँदै आएको थियो । गत आर्थिक वर्ष २०८०/८१ मा २२ जना बर्थिङ सेन्टरमा सुत्केरी भएका थिए । यो चालु आर्थिक वर्षमा कुनै पनि सुत्केरीले बर्थिङ सेन्टरमा सेवा नलिएको रारालिही स्वास्थ्य चौकीकी अधिकृत खत्रीको भनाइ छ ।

अबको केही साताभित्र विद्युतको लाइन जोडेर बर्थिङ सेन्टर सञ्चालनमा आउने तिला– २ का वडाध्यक्ष चन्द्र बोहोराले बताए । उनले भने, ‘बर्थिङ सेन्टरलाई चाहिने आवश्यक स्रोत साधनदेखि बजेटको व्यवस्थापन गर्न समय लागेको हो ।’

बर्थिङ सेन्टरको सेवा बन्द भएपछि तिलाका–१ र २ वडाका स्थानीयवासीलाई समस्या भएको छ । तत्काल बर्थिङ सेन्टर सञ्चालनका लागि सम्बन्धित वडालाई परिपत्र गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताइन् ।

‘बर्थिङ सेन्टर सञ्चालनमा ल्याउन निरन्तर लागि परेको छु । अहिले पालिकाको एम्बुलेन्सले सुत्केरी महिलालाई जिल्लामा रहेको कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा ल्याउन र लैजान निःशुल्क व्यवस्थापन गरेका छौं,’ उनले भनिन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ