२०८१ फागुन १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशतिलाको जुम्लाकोटमा क्षयरोग स्क्रिनिङ शिविर

तिलाको जुम्लाकोटमा क्षयरोग स्क्रिनिङ शिविर


जुम्ला—तिला गाउँपालिका–८ जुम्लाकोट स्वास्थ्य चौकीमा क्षयरोग स्क्रिनिङ शिविर सञ्चालन गरिएको छ । सोही वडामा दुई जना सर्ने क्षयरोगीका बिरामी भएको र अरुलाई पनि सर्न सक्ने सम्भावना देखिएकोले स्क्रिनिङ शिविर सञ्चालन गरिएको हो ।

तिला गाउँपालिका स्वास्थ्य शाखा जुम्लाको आयोजनामा गरिएको शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनस्वास्थ्य कार्यालय जुम्लाका स्वास्थ्यकर्मीसहितको टोली ग्रामीण स्वास्थ्य चौकीमा पुगेको थियो । पालिकाभित्र रहेका सम्भावित क्षयरोगको खोज पड्तालका लागि माइक्रोस्कोपी शिविर सञ्चालन गरिएको क्षयरोग फोकल प्रसन उत्तम देवकोटाले बताए ।

उनले भने, ‘यहाँका करिब १०८ जनाको खकार संकलन गरिएको छ । संकलित खकार कुडारी स्वास्थ्य चौकीको ल्याव र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको ल्यावमा परीक्षण गरिने छ । रिपोर्ट आउन दुई दिन समय लाग्ने देखिएको छ ।’

जनस्वास्थ्य सेवा कार्यालयबाट क्षयरोग हेर्ने स्वास्थ्यकर्मीसहितको टोली यहाँका सम्भावित क्षयरोगका बिरामीको स्वास्थ्य चेकजाँच गरिएको छ । गाउँपालिकाका स्वास्थ्यकर्मी गाउँमै गएर सम्भावित क्षयरोगका बिरामीको पहिचान गरी थप स्वास्थ्य उपचार र सल्लाह दिन क्षयरोगसम्बन्धी निःशुल्क माइक्रोस्कोपी क्याम्प संचालन गरिएको फोकल प्रसन देवकोटाले बताए ।

गाउँपालिकाभित्र अहिलेसम्म ८ जना क्षयरोगका बिरामी पत्ता लगाई स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गरिएका छन् । क्षयरोग मुक्त पालिका बनाउन प्रत्येक वर्ष गाउँमै स्वास्थ्य शिविर संचालन गरी सोहीअनुसार निदानका उपाय गर्दै आएको देवकोटाको भनाइ छ ।

जनस्वास्थ्य कार्यालय जुम्लाका क्षयरोग फोकल पर्सन अमरसिंह रावलका अनुसार जुम्ला जिल्लाभर चालु आर्थिक वर्षको माघ महिनासम्म २७ जना क्षयरोगका बिरामी रहेका छन् । उनले भने, ‘सबै बिरामीले क्षयरोगको औषधि सेवन गर्दै आएका छन् । बिरामीले नियमित औषधि नखाने र पोषिला खाने कुरा नखाने गर्नाले क्षयरोग बल्झिने गरेको छ ।’

सुक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग नै क्षयरोग हो । स्वास्थ्यप्रति सचेतनाको कमी र गरिबीका कारण नेपालमा यस रोगका बिरामी धेरै छन् । विश्वमा मात्र होइन नेपालमा पनि क्षयरोगका बिरामी बढिरहेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ