जुम्ला—चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई चिकित्सा विज्ञान अध्ययनका लागि स्नातकोत्तर तहमा २६ सिट पढाउने अनुमति दिएको छ । विभिन्न विद्यामा गरी आयोगले २६ सिट अध्यापन गराउन अनुमति दिएको हो ।
जसमा एडल्ट हेल्थ नर्सिङ, चाइल्ड हेल्थ नर्सिङ र उमन हेल्थ नर्सिङमा दुई–दुई सिट, एनाटोमीमा एक सिट, फर्मनकोनोलोजीमा पाँच सिट, पब्लिक हेल्थमा पाँच सिट, बालरोगमा तीन सिट, शल्यचिकित्सा, एनेस्थेटिसियामा एक–एक सिट, हाडजोर्नी तथा ट्रमामा दुई सिट र सामान्य चिकित्सा अभ्यासमा दुई सिटको अनुमति दिइएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भने, ‘हामीले चार वटा विद्यालयबाट स्नातकोत्तर तह सञ्चालन गर्ने सपना देखेका थियौं । त्यो सपना अब साकार भएको छ । कर्णालीमा विशेषज्ञ चिकित्सकहरू उत्पादन हुनु भनेको यहाँको स्वास्थ्य प्रणालीलाई आत्मनिर्भर बनाउनु हो ।’
प्रतिष्ठानका रेक्टर डा. डबलबहादुर धामीले पहिले डाक्टरकै अभावमा अस्पतालहरू अहेबले चलाउनुपर्ने बाध्यता अब अन्त्य हुने बताए । ‘अब यहीँ पढेका चिकित्सकहरू नेपालकै कुना–कन्दरामा गएर सेवा दिने अवस्थामा हामी पुगेका छौं । कर्णालीको शिक्षा र स्वास्थ्य आत्मनिर्भर हुँदैछ,’ उनले भने ।
प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतकाअनुसार अब देशभरका विद्यार्थीहरूले कर्णालीमा विशेषज्ञ तहको अध्ययन गरिरहेका छन् । ‘यस पटक पनि चिकित्सा शिक्षा अध्ययनका लागि २६ सिट प्राप्त भएको छ । प्रतिष्ठानले अझ राम्रो गर्दै जाने विश्वास लिएका छौं,’ महतले भने ।