वीरेन्द्रनगर—पाठेघरको क्यान्सर विरुद्धको खोप अभियानअन्तर्गत कर्णाली प्रदेशभमा एक लाख २० हजार किशोरीलाई एचपीभी खोप लगाइने छ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका सूचना अधिकारी नवराज कँडेलकाअनुसार प्रदेशका १० वटा जिल्लाका १ लाख २० हजार किशोरीलाई एचपीभी खोप दिन लागिएको हो ।
खोप अभियानअन्तर्गत मुगुका चार हजार ३७९ किशोरीलाई एचपीभी खोप लगाइने छ । यस्तै, डोल्पा दुई हजार ६४१, हुम्लाका तीन हजार ७३६, जुम्लाका आठ हजार ८२९, कालीकोटका ११ हजार ९२३, रुकुम पश्चिमका १२ हजार १०६ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभीको खोप दिइनेछ ।
यसैगरी, सल्यानका १४ हजार ५१३, सुर्खेतका २५ हजार ५१७, जाजरकोटका १५ हजार ५९२ र दैलेखका १८ हजार ९१ जना किशोरीलाई पाठेघरमा हुने क्यान्सर रोगविरुद्धको खोप लगाइने छ ।
विद्यालय जाने र नजाने ९ देखि १४ वर्षका किशोरीहरुलाई उक्त खोप दिइने उक्त खोप अभियान २२ माघदेखि ६ फागुनसम्म चल्नेछ ।
सुर्खेतका २५ हजार बढी किशोरीलाई खोप दिइने
कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा २५ हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा विद्यालय जाने र नजाने ९ देखि १४ वर्षका किशोरीहरुलाई उक्त खोप लगाउन लागिएको हो ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतकाअनुसार सुर्खेतका ९ वटा स्थानीय तहका २५ हजार पाँच सय १७ किशोरीहरु खोप अभियानमा समावेस हुनेछन् । जसमा २४ हजार ९ सय ७५ विद्यालय जाने छात्रा र पाँच सय ५७ जना विद्यालय बाहिर रहेका किशोरी रहेका छन् । उक्त खोप अभियान आगामी २२ माघदेखि ६ फागुनसम्म सञ्चालन हुनेछ ।
महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरको रोकथाम गरी मृत्युदर घटाउने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन लागिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी बताए ।
गौतमका अनुसार पहिलो चरण २२ माघबाट वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका, बराहताला गाउँपालिकामा खोप अभियान सुरु हुनेछ ।
यस्तै, दोस्रो चरणअन्तर्गत २७ माघबाट चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, सिम्ता गाउँपालिका र गुर्भाकोट नगरपालिकामा खोप अभियान सञ्चालन हुने गौतमले बताए । पहिलो पटक अभियानका रुपमा किशोरीहरुलाई खोप लगाउन लागिएको जनाउँदै गौतमले यसपछि नियमित रुपमै खोप सेवा सञ्चालन हुने बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयकाअनुसार खोप अभियानमार्फत गुर्भाकोट नगरपालिकाका ४२ विद्यालयमा रहने खोप केन्द्रबाट तीन हजार पाँच जना किशोरीहरुलाई खोप लगाइनेछ । पञ्चपुरी नगरपालिका १८ विद्यालय र १० अन्य खोप केन्द्रमार्फत दुई हजार २०६ जना किशोरीले खोप सेवा प्राप्त गर्नेछन् ।
यस्तै, भेरीगंगा नगरपालिकाका ४४ विद्यालयमा रहने खोप केन्द्रबाट दुई हजार ८५८, लेकवेशी नगरपालिकाका २८ विद्यालयका खोप केन्द्रबाट एक हजार ७४९, वीरेन्द्रनगर नगरपालिकाका ६७ विद्यालयका केन्द्रबाट १० हजार ७१३ किशोरीलाई खोप लगाइने कार्यालय प्रमुख गौतमले बताए ।
चिङ्गाड गाउँपालिका १७ विद्यालय र चार अन्य खोप केन्द्रमार्फत ९०८, चौकुने गाउँपालिकाका २० विद्यालय र ११ अन्य खोप केन्द्रबाट एक हजार २०२, बराहताल गाउँपालिकाका ३९ विद्यालयका खोप केन्द्रबाट एक हजार ३०९, सिम्ता गाउँपालिकाका १७ विद्यालय र १० अन्य खोप केन्द्रमार्फत एक हजार ३९८ जना किशोरीहरुलाई खोप लगाइने जनाइएको छ ।