जुम्ला—जुम्लाका करिब नौ हजार किशोरीलाई पाठेघर मुखको क्यान्सर विरुद्ध (एचपीभी) खोप लगाइने भएको छ ।सरकारले आगामी २२ माघदेखि ६ फागुनसम्म देशव्यापी रुपमा पाठेघर मुखको क्यान्सर विरुद्ध (एचपीभी) खोप लगाउन थालेको छ ।
जुम्ला २७ माघदेखि कक्षा ६–१० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समुहका ८ हजार ८२९ जना किशोरीलाई एचपीभी खोप लगाइने भएको हो ।
नेपालका अधिकांश महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गरेका छन् । बालबिवाह, कार्यबोझ, महिनावारीमा सरसफाइको अभाव, समस्या भन्न लजाउनेजस्ता कारणले कर्णालीका महिलाहरु पाठेघर संक्रमण हुने गरेको छ ।
पहिलो चरणमा चन्दननाथ, पातारासी, गुठीचौर, तातोपानी, तिलामा २७ देखि २९ माघसम्म खोप अभियान सञ्चालन हुने भएको छ । दोस्रो चरणमा २ देखि ३ फागुनमा हिमा, सिंजा र कनकासुन्दरीमा खोप अभियान सञ्चालन गर्ने जनस्वास्थ्य कार्यालयको तयारी छ ।
सरकारको राष्ट्रिय खोप अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघर मुखको क्यान्सर विरुद्ध (एचपीभी) खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । उनका अनुसार जिल्लाका आठ पालिकामा रहेका सबै सामुदायिक तथा निजी विद्यालयमा खोप केन्द्र सञ्चालन गरिने छ ।
स्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले भने, ‘केन्द्रीय तथ्यांकनुसार जुम्लामा १० देखि १४ वर्षसम्मका १ हजार पाँच सय ८६ जना विद्यालय बाहिर रहेका छन् । भने विद्यालय भित्रका ७ हजार दुई सय ४३ छन् । सबै गरी ८ हजार आठ सय २९ जना छात्रालाई उक्त खोप लगाउने तयारी भएको छ ।’
खोप अभियानलाई प्रभावकारी बनाउन सबै सरोकारवालाले सहयोग गर्नु जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख नरवीर सुनारले बताए । लक्ष्यनुसारका कोही पनि छात्राहरु नछुट्ने नदोहोरिने गरी खोप अभियान सञ्चालन गरिने उनले बताए ।
कुन पालिकामा कति ?
जनस्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाका ८ पालिकामा खोप केन्द्र सञ्चालन गरी करिब नौ हजार किशोरीलाई खोप दिइनेछ ।
चन्दननाथका एक हजार ८७९ जनालाई खोप दिइनेछ भने गुठीचौर गाउँपालिकाका ५२०, हिमाका एक हजार १३ जना, कनकासुन्दरीका ९६७ जनालाई खोप लगाइनेछ ।
त्यस्तै, पातारासीका एक हजार १५८ जना, सिंजाका ९०७ जना, तातोपानीका एक हजार १५३ र तिलाका एक हजार २३२ जना छात्रालाई खोप लगाइने स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाले जानकारी दिए ।