२०८१ माघ १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबाढीले क्षतिग्रस्त लामाबगर स्वास्थ्य चौकी पुनर्निर्माण हुँदैं

बाढीले क्षतिग्रस्त लामाबगर स्वास्थ्य चौकी पुनर्निर्माण हुँदैं


जुम्ला—अविरल वर्षाका कारण ठूलो बाढी पहिरो आएपछि क्षतिग्रस्त बनेको लामाबगर स्वास्थ्य चौकी पुनर्निर्माण हुने भएको छ । गएका वर्ष ०७८–०७९ साल लगातार दुई वर्षापछि आएको बाढी पहिरो कारण तातोपानी गाउँपालिका–७ र ८ वडामा पर्ने भेरी खोला किनारमा रहेका उक्त स्वास्थ्य चौकीमा क्षति भएको थियो ।

अहिले त्यो स्वास्थ्य चौकीको भवन निकै जोखिम अवस्थामा छ । अहिले निकै जीर्ण भवनबाट स्वास्थ्य चौकीले जेनतेन सेवा प्रवाह भइरहेको छ । यही समस्यालाई मध्यनजर गर्दै लामाबगरमा संघीय सरकारको ७० लाख रुपैयाँ बजेटमा चालु आर्थिक वर्ष ०८१/०८२ मा नयाँ भौतिक संरचना निर्माण हुन थालेको छ ।

स्वास्थ्य चौकी भवन निर्माणका लागि मापदण्डअनुसार ६४० वर्गमिटर जग्गा आवश्कता पर्ने व्यवस्था छ । तातोपानी गाउँपालिका–७ का वडाध्यक्ष तिलक रावतका अनुसार स्थानीय सरकारसँग सार्वजनिक जग्गा ४ सय वर्गमिटर रहेको छ । मापदण्डअनुसार जग्गा नपुग्ने भएकोले स्थानीय काली रावतबाट ४०५ वर्गमिटर जग्गा निःशुल्क प्राप्त गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

‘अब छिट्टै निःशुल्क जग्गा प्राप्त गरेपछि हामीसँग स्वास्थ्य चौकी भवन निर्माण गर्न ८०५ वर्गमिटर प्राप्त जग्गा प्राप्त हुन्छ,’ उनले भने, ‘त्यसपछि छिट्टै भवन निर्माणको प्रक्रिया थालनी गर्ने छौं ।’

तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईका अनुसार दुई वर्षको बाढी पहिरोको कारण लामाबगर स्वास्थ्य चौकीमा क्षति भएर सेवा प्रवाहमा असहज भइरहेको छ । ‘अब नयाँ भौतिक संरचना निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाहमा सहज हुने अपेक्षा गरेका छौं,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ