वीरेन्द्रनगर—सल्यानको कपुरकोट गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ । राप्ती आँखा अस्पताल, तुलसीपुर दाङको प्राविधिक सहयोगमा कपुरकोट गाउँपालिकाले शिविर सञ्चालन गरेको हो ।
शिविरमा १९४ महिला र ११९ पुरुष गरी ३०९ जनाको आँखा जाँच गरिएको कपुरकोट गाउँपालिकाले जनाएको छ । चेकजाँच पश्चात १८७ जनालाई चश्मा वितरण गरिएको छ ।
चेक जाँच गरिएका बिरामीहरुमध्ये ५९ जनालाई मोतियाविन्दु, ४२ जनालाई मोतियाविन्दुको अपरेसन गर्नुपर्ने, ९ जनाको दृष्टि दोष, १०१ जनालाई बुढेसकालमा हुने दृष्टि दोष भएको र ११२ जनाको आखाँमा बोसो पलाएको भेटिएको कपुरकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुवास हमालले बताए ।
शिविरमा ५ वर्षमुनिका ५ जना बालक र ४ बालिकाहरुको समेत आँखा जाँच गरिएको उनले जानकारी दिए ।
शिविरले स्थानीय नागरिकहरूलाई आँखा सम्बन्धि समस्याहरू पहिचान गर्न सहयोग पुर्याएको र आवश्यक परामर्श तथा उपचारका लागि सजिलो बनाएको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले बताए ।