२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगुमा ५० जना कुपोषित बालबालिका

मुगुमा ५० जना कुपोषित बालबालिका


जुम्ला—मुगुमा कुपोषित बालबालिकाको संख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिका सम्बन्धी काम गर्ने धेरै निकाय भएपनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषण देखिएको जिल्ला अस्पताल मुगुको पोषण पुनःस्थापना केन्द्रले जनाएको छ ।

जिल्लास्थित पोषण पुनःस्थापना केन्द्रले दिएको जानकारी अनुसार सोरु गाउँपालिकामा २१ जना, खत्याड गाउँपालिकामा ४ जना, मुगुमकार्मारोङ गाउँ पालिकामा ३ जना, छायाँनाथ रारा नगरपालिकामा २ जना र अन्तर जिल्ला हुम्लाबाट ३ जना गरी ५० जना बालबालिकालाई कुपोषण देखिएको जिल्ला पोषण पुनःस्थापना केन्द्रका कार्यालय सहयोगी सुर्जबहादुर मल्लले बताए । उनका अनुसार २३ जना बालबालिका पुनःस्थापना भएका छन् भने २७ जनाको उपचार भइरहेको छ ।

जिल्लाका ग्रामीण भेगकी लेखपढ गर्न नसक्ने अशिक्षित महिलालाई कुपोषण भएका बालबालिकालाई पोषणयुक्त लिटोको लेबल मिलाएर खुवाउन अलि कठिन मान्ने गरेको गुनासो मल्लले बताए । करिब पाँच वर्षभन्दामुनिका बालबालिकालाई पोषण केन्द्रले दुई साताको एकपटक स्वास्थ्य जाँच गर्ने र कुपोषण देखिएको खण्डमा आमा–बाबुलाई सुझाव सल्लाहका साथै तीन महिनासम्म पुग्ने लिटो दिने गरेको भएपनि कुपोषणमा कमी नआएको पोषण पुनःस्थापना केन्द्रले जनाएको छ ।

जिल्लाको खत्याड गाउँपालिकाको श्रीकोट, कोटडाँडा, धैनकोट स्वास्थ चौकी सोरु गाउँपालिकाको नार्थपु, कालै र मुगुमकार्मारोङ गाउँपालिकाको मांग्री र पिना स्वास्थ चौकीमा पोषण बहिरंग सेवा स्थापना गरिएको भएपनि स्वास्थ्यकर्मी र साधन–स्रोतको अभावले भनेको समयमा कुपोषित बालबालिकाले सेवा पाउन नसकेकको एक स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डा. निर्मल नगरकोटीका अनुसार जिल्लाको ग्रामीण बस्तीमा गरिबी र पोषिलो खानाको अभाव, अस्थायी परिवार नियोजनको साधन प्रयोग नगरी वर्षेनी बच्चा उत्पादनले गर्दा यस जिल्लाको ग्रामीण भेग क्षेत्रमा बढी बालबालिकामा कुपोषण हुने गरेको पाइएको छ । कुपोषण भएका बालिकालाई नियमित उपचाररात्मक लिटो सेवाग्राहीलाई सहजै उपलब्ध गराउँदैं आएको उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ