२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा प्रसूति आवास गृह सञ्चालन

जुम्लामा प्रसूति आवास गृह सञ्चालन


जुम्ला—नेपाल सरकारले संस्थागत रुपमा सुरक्षित सुत्केरी दर वृद्धि गर्ने उद्देश्यअनुरुप जुम्लामा आमा कुरुवा घर (आवास गृह) सञ्चालनमा ल्याएको छ । आर्थिक वर्ष २०७९/०८० सालदेखि जुम्लामा जनस्वास्थ्य सेवा कार्यालयले आमा कुरुवा घर सञ्चालनमा ल्याएको हो ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्ला कार्यालय प्रमुख कृष्ण सापकोटाका अनुसार हिमाली तथा पहाडी जिल्लामा गर्भवती तथा सुत्केरी महिलाका लागि आवास गृह सञ्चालन गरिएको हो । ‘हिमाली जिल्लामा घरदेखि स्वास्थ्य संस्थासम्मको दुरी टाढा हुने भएकाले गर्भवती तथा सुत्केरी महिलाका लागि आवास गृहको व्यवस्था गरिएको हो,’ सापकोटाले भने । गर्भवती तथा सुत्केरी महिलालाई ४५ दिनसम्म खाना, खाजा र बासको व्यवस्था कार्यालयले गरेको हो ।

डिभिजन वन कार्यालय नजिकै गर्भवती र सुत्केरी महिलाका लागि बस्ने घरको व्यवस्था गरिएको उनले बताए । ‘गर्भवती र एक जना कुरुवाको लागि प्रतिदिन प्रति व्यक्ति ३५० देखि ४ सय रुपैयाँको दरले खाना खाजा उपलब्ध गराउँदै आएका छौं,’ उनले थपे ।

सापकोटाका अनुसार सुत्केरी महिलाको लागि प्रतिदिन प्रतिव्यक्ति ४५० देखि पाँच सय रुपैयाँका दरले खाना खाजा उपलब्ध गराउने गरिएको छ । जुम्लामा गत आर्थिक वर्षमा कनकासुन्दरीका ३ जना, तिलाका १ जना, पातारासीका १ जना, सिंजाका गाउँपालिकाका २ जना गर्भवती तथा सुत्केरी महिला र कुरुवाले सेवा लिएका छन् ।

यस्तै, जिल्ला बाहिरका मुगुका ४ जना र अन्य १ गरी गत वर्ष १२ जनाले सेवा लिएको सापकोटाको भनाइ छ । उनकाअनुसार औसतमा १८ दिन, न्यूनतम १ दिन र बढीमा ४९ दिनसम्म गर्भवती तथा सुत्केरी महिला आवासमा बसेका छन् । यस्तै, चालु आर्थिक वर्षको माघ पहिलो सातासम्म ९ जना गर्भवती तथा सुत्केरी महिलाले सेवा लिएको सापकोटाको भनाइ छ । जसमा सिंजाका १, हिमाका १ र कनकासुन्दरी गाउँपालिकाका १ जना, कालिकोटका १, जाजरकोटका १, मुगुका ३ जना र डोल्पा जिल्लाका १ जना गर्भवती तथा सुत्केरी महिलाले सेवा लिएका छन् । दुई जना अहिले पनि आमा कुरुवा घरमा बस्दै आएका छन् ।

सरकारले जुम्लासहित २० वटा जिल्लामा आवास गृह संचालन गरेको छ । गर्भवती तथा सुत्केरी महिलाका लागि संचालन भएको आवास गृहले सहज बनाएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ