जुम्ला—हुम्लामा एक गर्भवती महिला अस्पताल लैजाने क्रममा बीच बाटोमै सुत्केरी भएकी छन् । आइतबार बिहान सिमिकोट गाउँपालिका–२ ठेहे गाउँकी २७ वर्षीया भन भण्डारीले बाटोमै बच्चा जन्माएकी हुन् ।
सुत्केरी व्यथा लागेपछि भण्डारीलाई गाउँकै स्वास्थ्य चौकीमा पु¥याइएको थियो । तर, स्वास्थ्य चौकीले थप उपकरण र संसाधनको अभावका कारण उनलाई जिल्ला अस्पतालमा रिफर गरेको थियो ।
सदरमुकामको जिल्ला अस्पतालसम्म पु¥याउनको लागि उनलाई स्ट्रेचरमा बोकेर लैजाने क्रममा उनले बाटोमै छोरीलाई जन्म दिइन् ।
ठेहे गाउँबाट सदरमुकाम सिमिकोट पुग्न पैदल तीन घण्टा लाग्छ भने गाडीमा एक घण्टा समय लाग्छ । तर, केही दिनअघिको हिमपातले सिमकोट गाउँपालिका–३ स्थित मन्की खोलामा बरफ जमेपछि गाडी जान नसक्ने अवस्था सिर्जना भएको थियो । यसले गर्दा भण्डारीलाई स्ट्रेचरमा बोकेर अस्पताल लैजानु परेको थियो ।
‘हामीले उनलाई स्ट्रेचरमा बोकेर साढे एक घण्टा हिँड्यौं । तर, बीच बाटोको चुकेडी भन्ने स्थानमा बच्चा जन्मियो,’ उनका आफन्त कृष्ण बोहराले भने, ‘अप्ठ्यारो बाटोमा साधारण मानिसले हिँड्न पनि गाह्रो हुने अवस्था छ । यस्तोमा स्ट्रेचरमा सुत्केरी महिला बोक्नु हाम्रा लागि ठूलो चुनौती थियो ।’
सुत्केरी महिलालाई बीच बाटोमै बच्चा जन्माएपछि तत्काल स्थानीय स्वास्थ्यकर्मीले आवश्यक प्राथमिक उपचार गरेका थिए । अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेकोले उनीहरूलाई घर फर्काइएको छ ।
सदरमुकाम सिमिकोटकै स्थानीयले समेत यस्ता समस्या भोग्नुपरेको गुनासो गरेका छन् । ‘गाउँमा स्वास्थ्य चौकी छ तर समयमै सेवा उपलब्ध हुँदैन् । प्रसूति सेवा भनिएपनि उपकरण छैनन्, औषधि पाउन गाह्रो छ,’ बोहराले भने ।
यसरी विकटमा अझै पनि आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नहुनु दुःखद् रहेको उनीहरूको भनाइ छ । हुम्लाका महिलाले सुत्केरी व्यथा लागेका बेला समयमा उचित उपचार नपाएको गुनासो गर्दै आएका छन् ।