२०८१ माघ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव

हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव


जुम्ला—हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधिको अभाव भएको स्थानीय सेवाग्राहीले गुनासो गरेका छन् ।

सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका हुन् । गाउँपालिकास्थित एक सामुदायिक अस्पताल, चार वटा स्वास्थ्य चौकी, एक आधारभूत स्वास्थ्य केन्द्र, ६ वटा आधारभूत स्वास्थ्य इकाईमा यतिबेला औषधि अभाव भएको छ ।

गाउँपालिका भित्र रहेका यी स्वास्थ्य संस्थामा उपचारका लागि सेवाग्राही आएपनि सामान्य सिटामोल समेत नहुँदा रित्तो हातमा फिर्ता हुनु परेको स्थानीय दलसुर परियारले बताए । गाउँपालिकाभरका स्वास्थ्य संस्थामा एक महिनादेखि सामान्य सिटामोल, ग्याष्ट्रिक, रुघाखोकी, दमलगायतका विरामीका लागि अति आवश्यक पर्ने औषधि नभएको परियारको भनाइ छ ।

यतिबेला गाउँपालिकामा रहेका चार वटा स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा उपचारका लागि बिरामी गाउँमै रहेका स्वास्थ्य संस्थामा नपुगेर जिल्ला अस्पताल सिमिकोटमा पुग्ने गरेका छन् । गाउँमा रहेका स्वास्थ्य चौकीमा औषधि नपाइने भएपनि जिल्ला वा जिल्ला बाहिर उपचारका लागि जाने गरेको पाइएको छ ।

स्वास्थ्य संस्थाहरुमा अभाव हुँदा बिरामीले औषधि पाएका छैनन् । स्वास्थ्य चौकीमा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भनेर फर्काइदिने गरेको स्थानीयले गुनासो गरेका छन् । स्थानीयकाअनुसार केही दिनअघि बिरामीको चाप हुने रायाँ, छिप्रा, लाली, खर्पे गाउँमा रहेका स्वास्थ्य चौकीमा यतिबेला विरामी नै आउन छोडेका छन् ।

दशैँ अघि पनि औषधि अभाव हुँदा ५ लाख रुपैयाँको औषधि गाउँपालिकाले खरिद गरेको थियो । तर, दशैँमा खरिद गरेको पनि सकिएर पुनः औषधि खरिदका लागि टेण्डर आव्हान भएको गाउँपालिका स्वास्थ्य संयोजक हरिभक्त शाहीले बताए ।

गाउँपालिकामा सबै औषधिको अभाव नभएपनि केही औषधिको अभाव भएको स्वास्थ्य संयोजक शाहीले बताए । खार्पुनाथ गाउँपालिका–१ को पिउस आधारभूत स्वास्थ्य इकाई, ३ को कारङगा आधारभूत स्वास्थ्य इकाई, ४ को लेख आधारभूत स्वास्थ्य इकाई र छिप्रा आधारभूत स्वास्थ्य इकाई, वडा नम्बर ५ को दुर्पा र ताक्ला आधारभूत स्वास्थ्य इकाईमा औषधिको अभाव भएको स्वास्थ्य संयोजक शाहीको भनाइ छ ।

यस्तै, गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीका अनुसार गाउँपालिकाले यहाँका स्वास्थ्य संस्थामा चाहिने औषधि र उपकरण खरिदका लागि टेण्डर आहान भएर स्वीकृत भइसकेको छ । गाउँपालिकामा माघ महिनाको पहिलो सातामा आइपुग्ने र चाडो पु¥याउन ताकेता लगाउने अधिकृत शाहीले बताए । गाउँपालिकाले अहिले १४ लाख रुपियाँको टेण्डर आह्वान गरेर खरिदका लागि प्रक्रिया अगाडि बढी सकेको शाहीको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ