२०८१ माघ १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालीकोटको भर्तामा झण्डै ७० लाख लागतमा आधुनिक प्रसूति सेवा केन्द्र बन्दैं

कालीकोटको भर्तामा झण्डै ७० लाख लागतमा आधुनिक प्रसूति सेवा केन्द्र बन्दैं


वीरेन्द्रनगर—कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका–३ भर्ता गाउँमा ६९ लाख ५३ हजार चार सय रुपैयाँको लागतमा आधुनिक प्रसूति सेवा केन्द्र (बर्थिङ सेन्टर) निर्माण हुने भएको छ । छायाँ नेपाल र शुभकालिका गाउँपालिका संयुक्त लागत साझेदारीमा प्रसूति सेवा केन्द्र निर्माण हुन लागेको हो ।

छायाँ नेपालको ८० प्रतिशत लागत र गाउँपालिकाको २० प्रतिशत लागतमा आधुनिक प्रसूति सेवा निर्माण हुने गाउँपालिकाले जनाएको छ ।

भर्ता गाउँमा प्रसूति सेवा केन्द्र नहुँदा गर्भवती तथा सुत्केरी हुनेका लागि समस्या हुने गरेको छ । उक्त समस्या समधानका लागि आधुनिक भवन निर्माण गरेर २४ घण्टा प्रसूति सेवा दिइने गाउँपालिकाका जनाएको छ ।

‘प्रसूति सेवा केन्द्रको व्यवस्थित रुपमा सञ्चालन र सेवा प्रवाहका लागि गाउँपालिकाले आधुनिक रुपमा निर्माण गर्न लागिएको छ,’ उनले भने, ‘विकट भेगका महिलाहरुको सुरक्षित प्रजननका लागि प्रसूति सेवा महत्वपूर्ण रहनेछ ।’

दुर्गम तथा विकट क्षेत्रमा व्यवस्थित प्रसूति सेवा अभाव रहेको ठाउँमा छायाँ नेपाल संस्थाले देखिएपछि प्रसुती सेवा केन्द्र निर्माण गर्दै आएको छायाँ, नेपालका कार्यकारी निर्देशक कमल थापाले बताए । ‘सुरक्षित प्रसूतिका लागि विगत लामो समयदेखि स्थानीय तहसँग मिलेर प्रसूति सेवा केन्द्रको स्थापना गर्दै आएका छौं,’ उनले भने, ‘कसैले पनि असुरक्षित प्रसूतिका कारण ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले दुर्गम तथा विकटमा रहेको शुभकालिका गाउँपालिका–३ भर्तामा पनि प्रसूति सेवा केन्द्रको स्थापना हुन लागेको हो ।’

प्रसूति सेवा केन्द्रमा दक्ष जनशक्ति खटाइने र थप आवश्यक सम्पूर्ण व्यवस्थापन गाउँपालिकाले गर्ने र भवनको निर्माण काम पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश शाहीले बताए । ‘गाउँपालिका र छायाँ नेपालको संयुक्त साझेदारीमा बन्ने प्रसूति केन्द्र पाँच महिनामा सक्ने लक्ष्य राखिएको छ । यहाँ एउटा फार्मेसी, प्रसूति कोठा, कर्मचारी आवाससहितको भवन बन्नेछ,’ उनले भने, ‘विकट वस्तीका सुत्केरी तथा गर्भवती महिलाको सहजताका लागि केन्द्रको स्थापना गर्न लागिएको हो ।’

प्रसूति सेवा केन्द्रको भवन निर्माण लागि आवश्यक जग्गा स्थानीय समाजसेवी नन्दबहादुर शाहीले निःशुल्क रुपमा उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केन्द्रबहादुर शाहीले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ