२०८१ माघ १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन भएन

स्वास्थ्यमन्त्रीको महत्वकांक्षी क्यान्सर उपचार सेवा : कर्णालीमा सम्झौता भयो कार्यन्वयन भएन


वीरेन्द्रनगर—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ३१ असारमा पदभार सम्हाल्दा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति, २०२४–३० स्वीकृत गरेका थिए । त्यसै रणनीति अनुसार देशभरका सातै प्रदेशमा क्यान्सर उपचार सेवालाई विस्तार गर्ने लक्ष्य राखिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिएको लक्ष्यअनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतसँग विपी कोइराला क्यान्सर अस्पतालले क्यान्सर उपचार सेवा दिने सम्झौता गरेको थियो । १८ भदौमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल र कर्णाली प्रदेश अस्पतालका सुर्खेत तर्फबाट तत्कालीन निर्देशक डा. डम्बर खड्काले सम्झौता–पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार क्यान्सरको उपचार सेवा १३ असोजबाट सुरु हुनुपर्ने थियो । यस्तै, सम्झौतामा विपी कोइराला मेमोरियल अस्पतालले सुर्खेत प्रादेशिक अस्पतालमा बहिरंग, अन्तरंग तथा उपचार समेटेर सेवा प्रदान गर्नुपर्ने उल्लेख थियो । तर, झण्डै तीन महिना बितिसक्दा पनि उक्त सहमति कार्यन्वयनमा आउन सकेको छैन ।

सम्झौता भयो कार्यन्वयन भएन्

हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शैय्याको क्यान्सर उपचारकक्ष सञ्चालन गर्ने गरी सेवा विस्तार गर्ने लक्ष्यका साथ भएको सम्झौताअनुसार हालसम्ममा कर्णाली प्रदेश अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुन सकेको छैन् ।

हरेक महिनाको एक साता अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको टोली विस्तारित सेवा केन्द्रमा खटिने सम्झौता भएको भएपनि हालसम्म पनि कुनै काम हुन नसकेको कर्णाली प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बताए । ‘१३ असोजबाट सेवा विस्तार गर्ने योजना रहेको थियो,’ उनले भने,‘तर, बीचमा चाडपर्व परेका कारणले कुनै काम हुन सकेको छैन् ।’

चाडपर्वपछि पनि विपी कोइराला क्यान्सर अस्पतालले अहिलेसम्म कहिले क्यान्सर उपचार सेवा दिने विषयमा जानकारी नभएको र सेवा पनि सञ्चालनमा आउन नसकेकोको सूचना अधिकारी बस्नेतले बताए । ‘क्यान्सर उपचार सेवा सञ्चालन कहिले हुन्छ भन्ने बिषयमा कुनै जानकारी छैन्,’ उनले भने,‘पछिल्लो चरणमा कुनै सम्पर्क पनि हुन सकेको छैन् ।’

सम्झौताअनुसार संरचना बनेनन्

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर र कर्णाली प्रदेश अस्पताल, सुर्खेतको सम्झौताअनुसार भरतपुर अस्पतालले क्यान्सर उपचार विस्तारित सेवा सञ्चालन गर्ने, क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्बन्धी कार्यविधि, २०८१ अनुसार सम्झौता भएको थियो ।

समझदारीअनुसार विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरले सेवा प्रदान गर्ने जनशक्तिलाई नियमानुसार यातायात, खाजालगायत खर्चको लागि आवश्यक बजेटको व्यवस्था मिलाउनुपर्ने, सेवा संचालन गर्दा आवश्यक जनशक्तिको व्यवस्था आफ्नो संस्थाको नियमित सेवा प्रभावित नहुने गरी मिलाउनुपर्ने, विस्तारित सेवाको हकमा महिनाको कम्तिमा एकपटक सेवा सञ्चालन गर्नुपर्ने, विस्तारित सेवामा बहिरंग, अन्तरंग एवं उपचार समेत समेटी सेवा प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, कर्णाली प्रदेश अस्पतालले क्यान्सर रोगको विस्तारित सेवा सञ्चालन गर्न आवश्यक वातावरण निर्माण गर्नुपर्ने, सेवाग्राहीलाई विस्तारित सेवाबारे सूचना, कार्यतालिका र सेवा विवरणबारे जानकारी गराउनुपर्ने, उपचारका लागि आफ्नो संस्थामा उपलब्ध पूर्वाधार, औजार, उपकरण र जनशक्ति परिचालन गरी प्रथम पक्षलाई पूर्ण सहयोग गर्नुपर्ने उल्लेख छ ।

तर, अहिलेसम्म पनि सेवा विस्तार नहुँदा विस्तारित सेवामा बहिरंग, अन्तरंग एवं उपचारका लागि कर्णाली प्रदेश अस्पतालले कुनै कक्ष निर्माण हुन नसकेको अस्पतालका सूचना अधिकारी बस्नेतले जानकारी दिए । ‘सम्झौताअनुसार काम नभएपछि कुनै प्रकार छुट्टै वार्ड र जनशक्तिको व्यवस्था हुन सकेको छैन्,’ उनले भने,‘सम्झौता कार्यन्वयनमा आएपछि मात्र अन्य संरचना बन्छन् होला ।’

सेवा प्रदायक अस्पताल र विस्तारित सेवा सञ्चालन गर्ने अस्पतालको द्विपक्षीय सहमतिका आधारमा सेवा थप गर्ने वा सेवा संचालनको कार्यतालिका परिमार्जन गर्न सकिने र सेवाको गुणस्तरको लागि दुवै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने थियो ।

यो समझदारी भएको लामो समयसम्म पनि सेवा विस्तार नहुँदा क्यान्सरका बिरामीहरु अस्पतालमा आउन सकेको कर्णाली प्रदेश अस्पतालले जनाएको छ । स्वास्थ्यमन्त्रीले महत्वकांक्षी योजनाका साथ अगाडि बढाएको यो कार्यक्रम गफमै सिमित हुने सन्देह उत्पन्न भएको छ ।

वर्षेनी बढ्दै बिरामी

सुर्खेत जिल्लामा क्यान्सर रोगका बिरामी वर्षेनी थपिँदै गएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा सुर्खेत जिल्लामा एक सय १० जना क्यान्सर रोगका बिरामी फेला परेका छन् । यो संख्या उपचारमा सहुलियत लिन आएकाको हो ।

गत वर्ष जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतबाट ५० जनाले प्रतिव्यक्ति २० हजारका दरले सहुलियत यातायात खर्च लिएका छन् । अन्य ६० जनाले सहुलियत लिन निवेदन पेस गरेको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ