२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु

हुम्लाको खार्पुनाथमा एक नवजात शिशुको मृत्यु


जुम्ला—थप उपचारका लागि रेफर गरिएका हुम्ला खार्पुनाथ गाउँपालिका—१ लालीगाउँका एक नवजात शिशुको मृत्यु भएको छ । समयमै हवाई टिकट नपाएपछि शिशुको मृत्यु भएको पीडित पक्षले आरोप लगाएका छन् ।

जिल्ला बाहिर उडान भर्दै आएका हवाई जहाजका कर्मचारीले गर्भवती महिलालाई टिकट नदिएपछि ४ मंसिर ०८१ मा जिल्ला अस्पतालमा शिशुको मृत्यु भएको पीडित पक्षले आरोप लगाएका हुन् ।

खार्पुनाथ गाउँपालिका–१, लाली गाउँकी २० वर्षीया शान्ती शाहीलाई सुत्केरी व्यथा लागेको लक्षण देखा परेपछि २ मङ्सिरमा जिल्ला अस्पतालमा पुगेको पति सुरज शाहीले बताए । जिल्ला अस्पतालमा शाहीको स्वास्थ्य चेकजाँच गर्दा उनको पेटमा भएको बच्चा उल्टो अवस्थामा हुनुका साथै जिल्ला अस्पतालमा ब्लड बैङ्कको व्यवस्था नभएका कारण सोही दिन उनलाई जिल्ला बाहिर सुविधासम्पन्न अस्पतालमा रिफर गरिएको थियो ।

अस्पतालको रिफर पत्रमा हवाई टिकटको व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरिएको थियो । हवाई टिकटका लागि उनका पति जिल्ला प्रशासन कार्यालयमा पुगे । तर, जिल्ला प्रशासन कार्यालयले हवाई टिकटको व्यवस्था नगरेको शाहीले गुनासो गरे ।

२ मङ्सिरमा रिफर गरिएकी गर्भवती महिलालाई ४ मङ्सिरमा जिल्ला बाहिर उद्धार हुनुपर्ने शाहीले उल्लेख गरे । तर, एयरलाइन्सले टिकट नदिएपछि उद्धार हुन नसकेको उनको भनाइ छ । ३ मङ्सिरमा नेपालगञ्जबाट नेपाल एयरलाइन्स र तारा एयरले उडान भरेका थिए । उक्त एयरलाइन्समा पुगेर इमर्जेन्सी टिकटको माग गर्दा दुई वटै एयरलाइन्सले टिकट नदिएपछि शिशुको मृत्यु भएको शाहीले आरोप लगाएका छन ।

उक्त विषयमा जिल्ला अस्पतालका कार्यालय प्रमुख प्रतिक्षा भारतीले गर्भवती महिलाको स्वास्थ्य चेकजाँच गर्दा पेटभित्र बच्चा उल्टो रहेको हुँदा जिल्लामा जोखिम मोल्न नसकिने भएपछि जिल्ला बाहिर रिफर गरिएको बताइन । भारतीका अनुसार हुम्लामा ब्लड बैङ्क नहुनु र गर्भवती महिलाको ओ नेगेटिभ ब्लड भएका कारण जिल्लामा कसैसँग उक्त ब्लड नभएका कारण सुविधासम्पन्न अस्पतालमा जान अनुरोध गरिएको थियो ।

जिल्ला अस्पतालले एयरलाइन्स कम्पनी र जिल्ला प्रशासन कार्यालयलाई समेत टिकटको अनुरोध गरेको उल्लेख उनले जानकारी दिइन् । कतैबाट टिकटको व्यवस्था नभएपछि शिशुको मृत्यु भयो भने आमाको ज्यान बचाउन सफल भएको प्रमुख भारतीको भनाइ छ ।

हवाई टिकटका लागि आधिकारिक सिफारिस नगरेको स्वीकार गर्दै सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले मौखिकमा एयरलाइन्सका कर्मचारीलाई टिकटको विषयमा बुझ्दा गर्भवती महिला ३२ हप्ता नाघिसकेकोले अन्य यात्रुसँग पठाउन नमिल्ने एयरलाइन्सका कर्मचारीबाट प्रतिक्रिया आएको बताए ।

उनका अनुसार गर्भवती महिलालाई उद्धारका लागि व्यक्तिगत हवाई चार्टर गर्नुपर्ने भएकोले ३ मङ्सिरमा उद्धार हुन नसकेको हो । नेपाल सरकारले विगत लामो समयदेखि दुर्गम हिमाली जिल्लाहरूका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई लिफ्टिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ