२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी

विद्यार्थीको पठनपाठन प्रभावित


जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका कर्मचारीले प्रतिष्ठानको शैक्षिक र प्रशासनिक भवनमा ताला लगाएका छन् । स्तरवृद्दिको माग सम्बोधन नभएको भन्दै ५८ जना शिक्षक कर्मचारीले तालाबन्दी गरेका हुन् ।

कर्मचारीले प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक भवनमा तालाबन्दी गरेपछि विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएको छ । पदाधिकारीको कार्यकक्ष पनि तालाबन्दी हुँदा काम ठप्प भएको छ ।

प्रतिष्ठानमा करिब ४ सय जना शिक्षक कर्मचारी कार्यरत छन् । जसमध्ये ७०/७५ जना मात्रै स्थायी छन् भने ठूलो संख्यामा करार र ज्यालादारी कर्मचारी कार्यरत रहेका छन् । विगत लामो समयदेखि प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई स्थायी प्रक्रिया अघि नबढाइनु, अदालतले समेत आन्दोलनरत कर्मचारीको पक्षमा समेत फैसला गरिसक्दा र जुम्लामा बसेको सिनेट बैठकले आन्दोलरत कर्मचारीको मागलाई संबोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेपनि प्रतिष्ठानका पदाधिकारीले कार्यान्वयनमा आनाकानी गरेपछि तालाबन्दी गरिएको आन्दोलनरत कर्मचारीले बताएका छन् ।

२०८० भदौ २१ गते कर्मचारीहरुले आन्दोलन गरेर दुई पक्षीय सम्झौता गरेका थिए, जसमा असोज ८ गते बढुवा पत्र प्रदान गरिएको थियो । तर, अन्य बाँकी स्थायी कर्मचारीहरुको स्तरवृद्धि प्रक्रिया २०८० असोज १ गतेबाट अगाडि बढाउने सहमति कार्यान्वयनमा ढिलाइ भएको आरोप कर्मचारीले लगाएका छन् ।

यस विषयमा अदालतले २०८१ भदौ २६ गते कर्मचारीहरुको पक्षमा निर्णय सुनाएपछि पनि कार्यान्वयन नभएको आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुले बताएका छन् ।

अदालतको फैसलादेखि सिनेट बैठकले समेत आन्दोलनरत कर्मचारीको माग संबोधनलाई अघि बढाउन निर्णय गरेपनि गत कात्तिक २७ गते पुनः वार्ता भएको र २८ जनाको स्तरवृद्धि गर्ने निर्णय सहमति भएकोमा कात्तिक २८ गतेको बैठकले निर्णय अनुमोदन गर्न आनाकाने गरेपछि प्रतिष्ठानमा तालाबन्दी गर्न बाध्य भएको कर्मचारीहरुले बताएका छन् । आफ्ना माग सम्बोधन नभए सम्म आगामी मंसिर ५ गते सम्म कर्मचारीले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजानिक गरेका छन् ।

४८ घण्टाभित्र निर्णय कार्यान्वयन नभएमा अस्पतालका आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने चेतावनी दिएका छन् । आफ्ना माग संबोधन र निर्णय कार्यान्वयन गर्न ४८ घण्टे अल्टिमेटम दिएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ