२०८१ माघ १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति र उपकरणको कमी हुन नदिने प्रधानमन्त्रीको घोषणा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति र उपकरणको कमी हुन नदिने प्रधानमन्त्रीको घोषणा

प्रतिष्ठान अस्पताललाई विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्नुपर्छ : स्वास्थ्यमन्त्री


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको विकासमा वर्तमान सरकार गम्भीर रहेको बताएका छन् । बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्रीले दुर्गम कर्णालीसहित पश्चिम नेपालको भरोसा केन्द्र बनेको प्रतिष्ठानको अध्ययन, अनुसन्धान र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सरकारले जनशक्ति र उपकरण कुनै कमी हुन नदिने बताए ।

‘विशेषज्ञ डाक्टर उत्पादन र स्वास्थ्य सेवा प्रवाहको परिकल्पना नगरेका कर्णालीवासीले घर—घरमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरेका छन्,’ उनले भने, ‘प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह गर्न सफल भयौं । यो हाम्रो गौरवको कुरा हो ।’ प्रधानमन्त्रीले कुनै बेला डाक्टर नपाइने ठाउँमा अहिले दक्ष जनशक्ति दीक्षित भएको उल्लेख गर्दै अब कर्णालीको स्वास्थ्य सेवाले थप गति लिने विश्वास व्यक्त गरे । ‘अब कर्णाली बन्दैछ । यहाँका सम्भावनाले कर्णाली दुर्गम रहेन् । अब चुनौतीहरु घटेका छन्,’ उनले भने ।

कृषि, पर्यटन, भाषा, साहित्यसँगै कर्णाली अब स्वास्थ्य सेवा प्रवाहका हिसाबले पनि आत्मनिर्भर बनेको उनले बताए । दीक्षित भएका विद्यार्थीलाई अझै इमानदारीका साथ राष्ट्प्रति कर्तव्यनिष्ट भएर सेवा गर्न उनले आग्रह गरे । ‘आज हामीले सुविधायुक्त शैक्षिक भवनसमेत उद्घाटन गरेका छौं,’ प्रधानमन्त्रीले भने, ‘यसले अध्ययन, अनुसन्धान र सेवा प्रवाहलाई सकारात्मक बल पुग्नेछ ।’

कर्णालीका १० सहित सुदूरपश्चिमका तीन जिल्ला गरी १३ जिल्लामा सेवा प्रवाह गरिरहेको कर्णाली प्रतिष्ठानको वृद्धि विकासमा वर्तमान सरकारको ध्यान पुगेको उनले बताए । ‘आज सिनेट बैठकमा प्रतिष्ठानका विविध विषयमा गहन छलफल भएको छ । लामो समयदेखि काम गरेका शिक्षक कर्मचारीको स्तरवृद्धिको विषयलाई समेत गम्भीर रुपमा लिएका छौं,’ प्रधानमन्त्रीले भने, ‘करोडौका संरचना बन्नु, विशेषज्ञ डाक्टर उत्पादन हुनुले कर्णाली स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुनु हो ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुर्गम कर्णालीमा प्रदान गरेको सेवा प्रवाहका विषयमा देशमा मात्र नभई विदेशमा समेत चर्चा भइरहेको उनको भनाइ थियो । आर्थिक अभावले यहाँका भवन अलपत्र पर्ने, स्वास्थ्य सेवा रोकिने स्थिति कहिले आउन नदिने समेत प्रधानमन्त्री ओलीले आश्वासन व्यक्त गरेका छन् ।

दैलेखको राकम कर्णालीमा बन्ने एक सय शैय्या अस्पताल र ट्रमा सेन्टर निर्माणमा समेत सरकारको ध्यान पुगेको प्रधानमन्त्री ओलीले बताए । ‘राकम कर्णालीमा बन्ने संरचनास्थलको स्थलगत अनुगमन समेत गरिसकेको र सुदूरपश्चिमका नागरिकले पनि सहज रुपमा सेवा पाउने भएकोले राकममा एक सय शैय्या अस्पताल निर्माणलाई अघि बढाउने छौं,’ उनले भने ।

प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विशेषज्ञ जनशक्ति उत्पादन केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘कर्णाली प्रतिष्ठान कर्णालीको मात्र होइन् राष्ट्रको गौरव हो । यो संस्थाले कर्णालीसहित पश्चिम नेपालमा दिएको सेवा प्रशंसायोग्य छ,’ पौडेलले भने, ‘यो प्रतिष्ठानलाई रेफरल अस्पताल बनाउने होइन्, यहाँ विशिष्टकृत सेवा सुरु गर्नुपर्छ ।’ प्रतिष्ठानको अपेक्षाकृत विकास हुन सकेको नसकेको उल्लेख गर्दै उनले अब सरकार गम्भीर हुनुपर्ने बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले प्रथम दीक्षान्त समारोह गर्न पाउँदा गौरव महसुस भएको बताए । ‘कोभिड—१९ का बेला देशकै उत्कृष्ट सेवा प्रवाह गरेको प्रतिष्ठानले कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ,’ उनले भने । उनकाअनुसार हाल प्रतिष्ठानमा एमडी, एमबीबीएस, बीएनएसलगायतका १४ वटा स्नातक तथा स्नातकोत्तर तहका विभिन्न कार्यक्रम संचालनमा छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ