जुम्ला—कृषि विकास बैंक लिमिटेड जुम्ला शाखाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई आठ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रमअन्तर्गत प्रतिष्ठानलाई कृषि विकास बैकले आठ लाख रुपैयाँ सहयोग गरेको हो ।
प्रतिष्ठानमा आयोजित कार्यक्रममा अन्तर मेडिकल कलेज खेलकूद कार्यक्रम तथा प्रथम दीक्षान्त समारोहको सहयोगार्थ प्रतिष्ठानलाई आठ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको कृषि विकास बैंक जुम्ला शाखाका प्रबन्धक खुम्बीलाल शर्माले बताए ।
बैंकले आफ्नो आम्दानीको ३ प्रतिशत सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानी गर्नुपर्ने प्रावधाननुसार कृषि विकास बैंकले बर्षेनी सामाजिक हितका क्षेत्रमा लगानी गर्दै आएको प्रबन्ध शर्माले जानकारी दिए ।
‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग कृषि विकास बैंकको पुरानो सम्बन्ध छ । २०२४ सालमा स्थापना भई वित्तिय क्षेत्रको विकासका लागि कृषि विकास बैंकले लगानी गर्दै आएको छ,’ उनले भने, ‘देशभरका विभिन्न प्रतिष्ठान र कलेजसँग बैंक सहकार्य गर्दै आएको छ । सोहीनुसार जुम्लामा १०/११ वर्षदेखि प्रतिष्ठानसँग सहकार्य गरिरहेका छौँ ।’
उनका अनुसार गत वर्ष ५ लाख रुपैयाँ बराबरको चिसो तातोपानी आउने मेसिन हस्तान्तरण गरिएको थियो । उनले बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानी गर्दै जाने प्रतिबद्दता व्यक्त गरेका छन् ।
कृषि विकास बैंक लिमिटेड कर्णाली प्रदेशका निर्देशक सुरज टण्डनले जुम्लामा स्थापित कर्णाली प्रतिष्ठानले सेवा, अनुसन्धान तथा अध्यायनका क्षेत्रमा विश्वव्यापी पहिचान बनाएको बताए ।
‘प्रतिष्ठानको थप विकास तथा सेवा प्रवाह सहज होस् भन्ने मनसाय विभिन्न समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएका छौँ,’ उनले भने । प्रतिष्ठान र बैंकको सम्बन्धलाई दिगो र प्रभावकारी बनाउन दुवै पक्षले सहकार्यलाई समधुर बनाउनुपर्नेमा जोड दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल धामीले कृषि विकास बैंकको सहयोग प्रति धन्यवाद व्यक्त गरे । बैकिङ सेवालाई छिटो—छरितो नागरिकमैत्री बनाउनुपर्नेसमेत उनले समेत जोड दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले दूरदराजमा कृषि विकास बैंकले पु¥याएको बैकिङ सेवाको प्रशंसा गर्दै आगामी दिनका थप प्रगतिको कामना गरे । बैंकसँगको एक दशक लामो सहकार्यलाई अझै समधुर बनाउनुपर्नेमा समेत उनको जोड थियो । प्रतिष्ठानका हरेक बैंकिङ सेवा कृषि विकासबाटै छिटो—छरितो भइरहेको समेत उनले बताए । ‘कृषि विकास बैैंकको सेवा भाव र उत्तरदायी भूमिका अन्य बैंक वित्तिय क्षेत्रका लागि अनुसरण योग्य होस्,’ उनले भने ।