२०८१ असोज ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपौष्टिक आहाराको प्रयोगले पोषणमा सुधार

पौष्टिक आहाराको प्रयोगले पोषणमा सुधार


जुम्ला—गुठीचौर गाउँपालिका–५ कुम्डी गाउँकी जानकी चौलागाईका बच्चामा पोषणको कमीले तौल कम थियो । पौष्टिक आहारा (लिटो पिठो) प्रयोगपछि उनका बच्चाको पोषणमा सुधार आयो ।

‘बच्चा ८ केजीको थियो । पौष्टिक आहाराको प्रयोगले एक महिनाको अन्तरालमा एक केजी बढेर ९ केजी पुगेको छ,’ उनले भनिन् ।

पौष्टिक आहारा प्रयोग सँगसँगै स्वास्थ्यकर्मीले पौष्टिक आहारा बनाउने विधि र स्वास्थ्य सरसफाईका विषयमा सिकाउने गरेकाले आफूहरुलाई सहज भएको उनले बताइन् । ‘पहिले—पहिले जस्तो बालबालिकामा कुपोषण देखिने गरेको छैन्,’ उनले भनिन्, ‘लिटोपिठो पौष्टिक आहाराको प्रयोगले दुई वर्षमुनिका बालबालिका र गर्भवती आमालाई पोषणमा टेवा पुगेको छ ।’

सोही वडाकी सुजाता भण्डारीकाअनुसार पौष्टिक आहाराले बालबालिका र गर्भवती आमालाई राहत पुगेको छ । ‘बच्चा र गर्भवति महिलाको स्वास्थ्य संस्थामा नियमित चेकजाँच गर्नुका साथै तौल लिने गरेको छ,’ उनले भनिन्, ‘जसले गर्दा अभिभावकलाई पोषण अवस्था जानकारी हुने र सोही अनुसार खानपानमा ध्यान दिने गरिएको छ ।’

उनीहरु जस्तै यो वडामा ४० जना गर्भवती र सुत्केरी आमा रहेका छन् । ६–२३ महिनासम्मका ७० जना बालबालिका रहेको देपालगाउँ स्वास्थ्य चौकीका इन्चार्ज क्षेत्र खत्रीले बताए । ‘यसमध्ये दुई जना बालबालिका मात्रै मध्यम कुपोषित देखिएका छन्,’ उनले भनिन्, ‘उनीहरुको पनि पोषणमा सुधार आउने अपेक्षा गरिएको छ ।’ गत वर्ष यो वडामा कुपोषण शून्य अवस्थामा रहेको थियो ।

एमडिआई जुम्लाका प्रमुख नवीन रावलकाअनुसार आमा तथा बाल स्वास्थ्य पोषण कार्यक्रमअन्तर्गत पौष्टिक आहारा वितरण गर्नुका साथै सचेतीकरण गर्ने गरिएको छ । बालबालिका, गर्भवती र सुत्केरी आमाले दैनिक सय ग्रामको दरले पौष्टिक आहारा खान सिकाइएको हुन्छ । ‘यसका अलवा रैथाने अन्नबालीको पनि पौष्टिक आहारा बनाएर खाने विधि पनि सिकाउने गरिएको छ,’ उनले भनिन् ।

अब एक महिना पुग्ने मात्रै पौष्टिक आहारा मौज्दात रहेको कार्यक्रम संयोजक रावलले बताए । उनले भने, ‘नेपाल सरकार, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन र संयूक्त राष्ट्र संघ, विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग तथा मनोहोरी विकास संस्था नेपालको (एमडिआई) साझेदारीमा सामाजिकमा आमा तथा बाल स्वास्थ्य पोषण कार्यक्रम सञ्चालन गरिएको हो ।’

गत वर्ष कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पाँच करोड बजेट विनियोजन गरेको थियो । त्यो बजेट ४ महिनाका लागि ६०.५०१ मेट्रिक टन पौष्टिक आहारा प्राप्त भएको हो । एक महिनाका लागि पाँच हजार ३६४ जनालाई १६.०९२ मेट्रिक टन आवश्यक पर्दछ । १२ महिनाका लागि १०६.९६२ मेट्रिक टन पौष्टिक आहारा आवश्यक हुन्छ ।

यस वर्ष ०८१/०८२ मा बजेट विनियोजन गरिएको छैन । जसले गर्दा पौष्टिक आहारा वितरण नहुने देखिन्छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ