२०८१ असोज ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुत्केरीको मृत्युपछि कर्णाली प्रदेश अस्पतालमा तनाव

सुत्केरीको मृत्युपछि कर्णाली प्रदेश अस्पतालमा तनाव


वीरेन्द्रनगर—कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एक सुत्केरीको मृत्यु भएपछि आफन्तको आन्दोलनका कारणले प्रहरी परिचालन गरिएको छ । सोमबार विहान वीरेन्द्रनगर–६ बस्ने १८ वर्षीया शर्मिला सुनारको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

शर्मिला आइतबार अस्पताल भर्ना भएकी थिइन् । उनले आइतबार साँझ ९ः३० मा मृत शिशुको जन्म दिएकी थिइन् । सोमबार बिहान सुनारको मृत्यु भएको घोषणा अस्पतालले गरेको मृतककी भाउजु चन्द्रकली सुनारले बताइन् ।

‘अस्पताल भर्ना गरिसकेपछि डाक्टरले बिरामीको अवस्था सामान्य नै रहेको आफन्तलाई जानकारी दिनुभएको थियो,’ उनले भनिन्, ‘पहिला आमा बच्चा दुवैलाई ठिकै छ भन्नुभयो पछि एक्कासी बच्चाको पेटमा नै मृत्यु भइसकेको छ भन्ने जानकारी आएपछि हामीले आमालाई बचाइदिनुस् भनेर आग्रह ग¥यौ ।’

उनले अहिले आफूहरुलाई बिरामी भेट्न नदिएको बताइन् । ‘हामीले उसको अनुहार हामीले अहिलेसम्म देख्न पनि पाएका छैनौं । बच्चा के जन्मियो त्यो पनि जानकारी छैन, मरेकै भएपनि बच्चा हामीलाई दिनुस् भनेको हो त्यो पनि दिनुभएको छैन्,’ चन्द्रकला भनिन, ‘सुविधासम्पन्न अस्पतालमा आउँदा पनि सुत्केरी सुरक्षित हुन नसक्नु यो कस्तो विडम्बना हो । लापरवाही गर्ने डाक्टरलाई कडा कारवाही हुनुपर्छ ।’

चन्द्रकलीका अनुसार डाक्टरले शर्मिलालाई बढी रक्तस्राप भएको र आईसीयुमा राखिएको जानकारी दिएका थिए । मृतकका आफन्तलाई जानकारी नदिएरै अस्पतालले पहिला प्रहरीलाई अस्पतालमा बोलाएको चन्द्रकलीले जानकारी दिइन् । प्रहरी आएपछि मात्र आज (सोमबार) विहान ४ बजे प्रहरीले शर्मिलाको मृत्यु भइसकेको जानकारी दिए ।

अहिले अस्पताल, प्रहरी र मृतकका आफन्तबीच वार्ता भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । मृतकका आफन्तहरू अस्पताल परिसरमा आन्दोलनमा उत्रिएका छन् । भिड नियन्त्रणका लागि अस्पताल परिसरमा प्रहरी टोली तैनाथ गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ