२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्ला अस्पतालमा बिरामीको चाप बढेपछि औषधिको अभाव

हुम्ला अस्पतालमा बिरामीको चाप बढेपछि औषधिको अभाव


जुम्ला—जिल्ला अस्पताल हुम्लामा पछिल्लो समय बिरामीको चाप अत्याधिक बढ्न थालेपछि औषधि किन्न निजी मेडिकल तथा फार्मेसी धाउनुपर्ने बाध्यता भएको छ । जिल्ला अस्पतालमा उपचारका लागि सदरमुकाम आसपास गाउँ ठेहे, दाजाम, डाँडाफया, धारापोरी, बुराउँसे, बरगाउँ, याँचु, माजा, छिप्रालगायतका गाउँबाट बिरामी पुग्ने गरेका छन् ।

जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि सेवाग्राहीले निजी मेडिकलबाट औषधि किन्नुपर्ने बाध्यता रहेको सेवाग्राही ऐटन रावलले गुनासो गरे । उनले आफ्ना छोरालाई कडा खाले ज्वरो आएर जिल्ला अस्पताल लैजाँदा निजी मेडिकलबाट औषधि किन्नु परेको बताए ।

मौसमी रुघाखोकीका बिरामी बढ्दा अस्पतालले धान्न नसक्ने गरी बिरामी उपचारका लागि पुग्ने गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन् । मौसमी बिरामीको चाप अत्याधिक बढेसँगै अस्पतालमा बिरामी राख्ने शैय्याको पनि अभाव हुन थालेको अनमी बोहराको भनाइ छ ।

बोहराकाअनुसार १५ शैय्या क्षमता भएको जिल्ला अस्पतालमा एक सातादेखि बिरामी बढी भर्ना हुँदा प्रसुती गृहलगायतका वार्डमा समेत बिरामीलाई राखेर उपचार गर्न थालिएको छ ।

उपचार गर्न आउने बिरामीको चाप बढ्दा भर्ना भएर डिस्चार्ज भएका कतिपय बिरामीलाई पनि पुनः अस्पतालमै भर्ना गर्नुपर्दा समस्या हुने गरेको छ । वर्षायाममा हुने मौसम परिवर्तनलगायतका कारण जिल्ला अस्पतालमा बिरामीको संख्या बढेपछि बेडको अभाव भएको छ ।

जिल्ला अस्पतालमा धेरैजसो मौसमी रुघाखोकी र ज्वरोका बिरामीहरू आउने गरेको अस्पतालका डा. सुनिल पुजाराले बताए । अहिले बालबालिकाहरूमा पनि ज्वरोको समस्या बढी देखिएको डा. पुजाराले उल्लेख गरे । जिल्ला अस्पतालमा दैनिक १ सय ५० जना बिरामी औषधि उपचार गर्दै आएका छन् । जसमा सबैभन्दा बढी ज्वरोका बिरामी, झाडापखाला, निमोनिया र ग्याष्ट्रिकलगायतका बिरामीले उपचार गराएको जिल्ला अस्पतालका डा. पुजाराले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ